सत्ता गठबन्धनका पाँच दलले सर्वोच्च अदालतमा देखिएको समस्या निकास हुने गरी पहल गर्ने
काठमाण्डौं, २०७८ कात्तिक ३० गते मंगलबार । पाँच दलीय सत्ता गठबन्धनले सर्वोच्च अदालतमा देखिएको समस्यालाई यथाशीघ्र निकास हुने गरी पहल गर्ने बताएको छ । गठबन्धनमा आबद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्यामा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि पहल गर्ने बताएको हो ।
बैठकले समस्या समाधानको पहलका लागि सरोकारवालाहरुलाई आह्वान पनि गरेको छ ।
समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा सिंहदरबारमा बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी निकास दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिएको मन्त्री कार्कीले बताउनुभयो ।
समितिले आसन्न राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ । त्यसैगरी बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा उनीहरुको पुनर्स्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाएको दाबी पनि गरिएको छ ।
समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि समितिले गरेको मन्त्री कार्कीले बताउनु भयो ।
समितिले गठबन्धन सरकारको निर्माणसँगै कोभिड-१९ को रोकथामका लागि खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, स्थिर सरकारको निर्माणसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु तथा उद्यमीहरु उत्साहित भएको पनि समितिले जनाएको छ ।
बैठकले राष्ट्रियता, लोकतन्त्रको सम्वर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएको दाबी समेत गरेको छ । उज्यालो अनलाईन