Sat. Oct 19th, 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न (फोटो फिचर)

फोटो : रमेश हतुवाली

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । उदाउँदो सूर्यलाई अर्घ्य दिंदै आज विहान छठ पर्व विधिपूर्वक सम्पन्न गरिएको छ । बुधबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् । सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

फोटो : रमेश हतुवाली

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि स्वास्थ्य मापदण्ड पुरा गरि फरक ढंगले छठ पर्व मनाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, खोला, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने परम्परा छ ।

फोटो : रमेश हतुवाली

तराई मधेशका जिल्लाहरुमा विशेष धुमधामकासाथ यस पर्वमा पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाएर यो पर्व मनाउने गरिन्छ । विगतमा तराई मधेसमा मात्र सिमित रहँदै आएको यो पर्व केही वर्षेदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भव्य रुपमा मनाउन थालिएको छ ।

फोटो : रमेश हतुवाली

यस पटक काठमाडौंको गौरीघाट क्षेत्रको बागमती नदी किनार, कमलपोखरी, थापाथली लगायतका क्षेत्रमा छठपर्वको भव्य रौनक देखियो । ती स्थानहरुलाई सरसफाई गरी विजुली बत्ति, केराका थाम, फूल र बेलुनले सजि सजाउ पारिएको देखिन्थ्यो । छठ पूजा समिति गौरीघाट र पशुपति विकास कोषले संयुक्त रुपमा छठ पूजाको संयोजन गर्दा गौरीघाट क्षेत्र भव्य, सम्य अनि सुन्दर देखिन्थ्यो । छठका उपासक तथा ब्रतालुहरु भन्दा पनि सर्वसाधारण र रमितेहरुको ति क्षेत्रमा घुइचो लागेको थियो ।

फोटो : रमेश हतुवाली

उपत्यका बाहिर मोरंग जिल्लाको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा हजारौंको संख्यामा स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर पुगेका थिए । त्यसैगरी जनकपुर, बीरगञ्ज लगायत तराई मधेसका सबै जिल्ला तथा क्षेत्रमा पनि भव्य रुपमा छठ पूजा गरिएको छ ।

फोटो : रमेश हतुवाली

दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा, कोदो जस्ता पदार्थ नखाने, दोस्रो दिन न्हाँ खाँ गरी खाने, तेस्रो दिन दिनभरी उपवास बसेर साँझ सखर मिलाएको खिर (खरना) खाने, चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ ।

फोटो : रमेश हतुवाली
फोटो : रमेश हतुवाली

फोटो : रमेश हतुवाली

Facebook Comments