Sat. Oct 19th, 2024

अर्थ मन्त्री शर्मा भन्नुहुन्छ, “अहिलेको सरकार संवैधानिक सरकार”

काठमाण्डौं, २०७८ कात्तिक १७ गते बुधबार । अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आउनुभएका मन्त्री शर्माले यस्तो बनाउनुभएको हो ।

केही व्यक्तिहरुले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको बताउनुहुँदै जनादेश प्राप्त सांसदहरुबाट सरकार निर्माण भएको बताउनुभयो । प्रतिगमनकारीहरुबाट पटक पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरुको संरक्षण भएको मन्त्री शर्माले बताउनुभयो । जनताबाट निर्वाचित प्रतिनिधीहरुबाट सरकार गठन भएकोले आफ्नो पूरा कार्यकाल सरकार सञ्चालन गर्ने र जनताको काम गर्ने मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

सरकार सञ्चालनका लागि बनाइएको गठबन्धनको बारेमा दलहरुबीच बैठक बसेर साझा धारणा बनाइने मन्त्री शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री देश बाहिर रहनुभएको र स्वदेश फिर्ता पछि बैठक बसेर साझा धारणा निर्माण गरिने उहाँले बताउनुभयो । अहिलेसम्म सरकारमा संलग्न कुनै पनि दलले आधिकारिक निर्णय नगरिसकेको बताउनुहुँदै अहिलेको गठबन्धन निर्वाचन पछिसम्म नै रहने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments