Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

ग्लास्गो। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ ।

सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गर्नुभएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औंजारमा नेपालको चासो रहेको धारणा व्यक्त गर्नुभएको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड-१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गर्नुभएको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाले मङ्गलवार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गर्नुभएको थियो ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उहाँले नेपालका तर्फबाट राष्ट्रिय सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा ११७ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आज नोभेम्बर ३ तारेख स्थानीय समयानुसार बिहान १०ः३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उहाँले नेपाली बगैँचामा बिरुवा पनि रोप्नहुनेछ ।

उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आजै इडिनबर्ग विमानस्थलबाट कतारको दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रवार राति संयुक्त अधिराज्य पुग्नुभएको थियो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप-२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ । रेडियो नेपाल

Facebook Comments