Sat. Oct 19th, 2024

फेसबुकको नाफा बढ्यो, तीन महिनामा ९ अर्ब अमेरिकी डलर

काठमाण्डौं, २०७८ कात्तिक ११ गते बिहीबार । चुहावट भएका आन्तरिक गोप्य कागजातहरूका कारण सिर्जना भएको विवादको परिणाम स्वरूप कम्पनीले भोगेको दबाबबीच फेसबुकले तेस्रो चौमासिकमा अपेक्षा गरेभन्दा राम्रो नाफा कमाएको छ।

विश्वकै विशाल मध्येको यो सामाजिक सञ्जालले सेप्टेम्बरसम्मको तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको बताइएको छ। अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७.८ अर्ब डलर थियो।

तर एपलको प्रणालीमा आएको नयाँ अपडेटका कारण फेसबुकलाई लक्षित समूहसम्म विभिन्न ब्रान्डका विज्ञापन पठाउन कठिन भएको थियो। एक जना पूर्व कर्मचारीले फेसबुकमाथि अनैतिक व्यवहारहरूको आरोप लगाइरहँदा उसको नाफा भने अझै बढेको देखिएको हो।

फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताहरूको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउँदै एउटा आन्तरिक कागजातको विवरण सार्वजनिक गर्नुभएको थियो ।

विभिन्न समाचार विवरणहरूले फेसबुकले अमेरिका बाहिर घृणा फैलाउने भाषण र यौन बेचबिखनलाई बढवा दिने सामाग्रीलाई मध्यस्थता गर्न सङ्घर्ष गरिरहेको सार्वजनिक गरेका थिए।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले सोमबार लगानीकर्ताहरूलाई भन्नुभयो – “चुहावट भएका कागजात प्रयोग गरेर सङ्गठित रूपमा हाम्रो कम्पनीलाई बदनाम गर्ने प्रयास भइरहेको हामीले देखिरहेका छौँ।”

फेसबुकले सेप्टेम्बर ३० सम्मको १२ महिनामा आफ्ना प्रयोगकर्ताहरू ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको जनाएको छ। बीबीसी

Facebook Comments