प्रधानमन्त्रीद्वारा प्रदेश १ का बाढी पहिरो प्रभावित विभिन्न क्षेत्रको अवलोकन
काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रदेश १ को बाढी पहिरो प्रभावित विभिन्न क्षेत्रको अवलोकन गरी बाढी पहिरोबाट परेको प्रभाव बारे जानकारी लिनुभएको छ ।
त्यस क्रममा प्रधानमन्त्री देउवाले आज बाढी प्रभावित मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लाहरूको स्थलगत अवलोकन गर्नुहुँदै बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गरिने बताउनुभएको रेडियो नेपालका सम्बाददाताहरुले जनाएका छन् ।
त्यस क्षेत्रको भ्रमणका क्रममा आज बिहान विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समयमा ध्यान दिन नसक्दा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति व्यहोर्नु परेकाले त्यसको नियन्त्रणका लागि अब दीर्घकालीन योजना अगाडी बढाइने बताउनुभयो ।
बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा सुनसरीको इटहरी पुगेर बाढीबाट परेको प्रभावबारे जानकारी लिनुहँदे प्रधानमन्त्री देउवाले साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरो पीडितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीहरूले गरेको कामको प्रशंसा गर्नुहुँदै सुरक्षा प्रमुखसहित स्थानीय तहका प्रमुखहरूलाई विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्न र राहतका कार्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभयो ।
पाँचथर र इलामको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ स्थित राँकेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पीडितहरूको राहत र उचित व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले विपत्को समयमा हरेस नखाई एकजुट भएर विपत्को सामना गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण दलमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत सहभागी हुनुहुन्थ्यो ।
यसअघि प्रधानमन्त्री देउवाले गत बिहीबार सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित विभिन्न जिल्लाहरूको अवलोकनमा जानुभई बाढी पहिरोबाट परेको प्रभावबारे जानकारी लिँदै सरकारको तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । रेडियो नेपाल