Wed. Sep 25th, 2024

बेलायतको यात्रासम्बन्धी प्रतिबन्धात्मक सूचीबाट नेपाल हट्यो

काठमाण्डौं, २०७८ असोज २२ गते शुक्रबार । बेलायत सरकारले बिहीवार प्रतिबन्धात्मक सूचीमा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेको छ । यो घोषणासँगै अब बेलायत जाने नेपाली विद्यार्थी र अन्य यात्रुले होटेल क्वारन्टिनमा बस्नुपर्ने चर्को शुल्क र झण्झट व्यहोर्नु नपर्ने भएको छ ।

बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलमा इपिडिमियोलोजी विषयमा स्नातकोत्तर तहमा भर्ना हुनुभएकी प्रमिला पौडेल, आफ्ना श्रीमान् र १५ महिनाकी छोरीसहित गत ३ अक्टोबरमा लन्डन पुग्नु भएको थियो । बेलायतले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुको सूची (रेड लिस्ट) मा राखेका कारण उहाँको पूरै परिवार १० रात, ११ दिन होटेल क्वारन्टिनमा बस्नुपर्ने भयो।

प्रमिलाले भन्नुभयो, “हामीले होटेलको खर्च बापत मात्रै ३,७०० पाउन्ड (झन्डै ६ लाख रुपैयाँ) तिर्नु पर्‍यो। पढाइ शुरू भइसकेको र विश्वविद्यालयले ताकेता गरेका कारण ढिला गर्न पनि मिलेन,” । तर अब बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुहरुले यस्तो झण्झट व्यहोर्नु नपर्ने भएको छ ।

सोमवारदेखि नयाँ नियम लागु गरिनेछ। नेपालका लागि बेलायती राजदूतले पनि नेपाल “रेड लिस्ट” बाट हटेकोमा ट्विटरमा खुशी व्यक्त गर्नुभएको छ । नयाँ नियम अनुसार बेलायती सरकारले “पहेँलो”सूची नै हटाएको छ भने हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या ह्वात्तै बढाएको छ। बेलायती यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियमहरू बेलायतमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा “एउटा नयाँ पाइला”भएको बताउनु भयो ।

बेलायत सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै “रेड लिस्ट” मा रहने घोषणा गरेको छ। यसअघि नेपाल लगायत ५४ ओटा मुलुक “रेड लिस्ट”मा थिए।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता श्रीमती रोशन खनालले ब्रिटिश सरकारको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ । यसै वर्षको शुरूमा बेलायतले संसारभरिका मुलुकलाई ‘रातो’, ‘पहेँलो’ र ‘हरियो’ गरी तीन भिन्दाभिन्दै सूचीमा वर्गीकरण गरेको थियो। बीबीसी

Facebook Comments