Wed. Sep 25th, 2024

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

- समुहगत छलफलका लागि भोली विहान ८ बजे देखि २ बजेसम्मको समय तोकियो

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो ।

नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।

भेलामा झन्डै छ हजार नेता, कार्यकर्ता सहभागी हुँदैछन् । आउँदो मङ्सिरको दोस्रो हप्ता नेतृत्व चयनका लागि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरूमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।

विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसङ्क्षेपीकरण गरिने एमालेले जनाएको छ ।

एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेर हदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

समुहगत छलफलका लागि भोली विहान ८ बजे देखि २ बजेसम्मको समय

नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ । छलफलका लागि प्रस्ताव गरिएका तीनवटा प्रतिवेदनमा समुहगत छलफलका लागि सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूह कको अध्यक्षता देवराज घिमिरे,सहजीकरणका भीम आचार्य र सुवास नेम्वाङलाई तोकिएको छ । समूह खको अध्यक्षता ज्वाला साह सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठलाई तोकिएको छ।

समूह गको अध्यक्षता आनन्द पोखरेल सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । । समूह घको अध्यक्षता जगत विश्वकर्मा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङलाई तोकिएको छ ।

समूह ङ अध्यक्षता  लिला गिरी सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलाई तोकिएको छ । समूह चको अध्यक्षता गोरखबहादुर बोगटी सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेललाई तोएिको छ । सुदुरपश्चिमको अध्यक्षता कर्ण थापा सहजिरकण भीम रावल र लेखराज भट्टलाई तोकिएको छ । उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्य सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई तोकिएको छ ।

जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

सबै समूहलाई भोलि बिहान ८ बजे आउन र ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्न भनिएको छ । २ बजे मूल बैठक बस्नेछ र टोली नेताहरुले छलफलको निष्कर्षहरु पेश गर्नेछन् ।

Facebook Comments