Wed. Sep 25th, 2024

अफगानिस्तानमा तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्।

‘डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।

बीबीसीकी सोदोबा हैदरले सामाजिक सञ्जालमार्फत् विद्रोह गरेका महिलासँग कुराकानी गर्नुभएको छ ।

तपाईँले गुगलमा ‘अफगान ट्रेडिशनल क्लोथस्’ टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ।

उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरिएको छ।

छातीको वरिपरि स-साना काँचका टुक्रा जडान गरिएको छ। त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्।

केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्। ती सबै कुराहरू महिलाहरू अफगानिस्तानको कुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भन्नेमा निर्भर गर्छ।

विगत २० वर्षमा महिलाहरूले कार्यस्थलदेखि विश्वविद्यालयसम्ममा यस्तै पोशाक लगाइरहेका थिए। तर यसैबीच एउटा अनौठो घटना भयो।

शरीर पूरै ढाक्ने कालो रङको अभया लगाएका महिलाले गत साता तालिबानको समर्थनमा काबुलमा र्‍याली निकाले। उक्त र्‍यालीमा भाग लिने एक महिलाले आधुनिक पोशाक लगाउने र मेकअप गर्ने महिलाहरूले देशका मुस्लिम महिलाहरूको प्रतिनिधित्व नगर्ने बताइन्। बीबीसी

Facebook Comments