Wed. Sep 25th, 2024

ह्वा वै कम्पनीकी उप-प्रबन्धक तीनवर्षपछि क्यानडाबाट रिहा

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । झण्डै तीनवर्ष पहिले क्यानडामा पक्राउ पर्नुभएकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वा वै की उपप्रबन्धक मङ वान चौ रिहा हुनुभएको छ । उपप्रबन्धक मङ वान चौ अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किनु भएको हो ।

ह्वा वै की आर्थिक मामिला प्रमुख मङ वान चौ सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ पर्नुभएको थियो । ठगीको आरोपमा पक्राउ पर्नुभएकी ह्वा वै का संस्थापककी छोरी मङ वान चौलाई क्यानडामै नजरबन्दमा राखिएको थियो।

मङ वान चौ पक्राउ परेसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उहाँको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उहाँ रिहा हुनुभएको हो । मङ वान चौको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो।

चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताउनु भएको छ । मङ वान चौ पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो।

“यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ,” क्यानडामा थुनामुक्त भएपछि मङ वान चौले सम्वाददाताहरूसँग भन्नुभयो ।

“कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन,” उहाँले पुन भन्नुभयो ।

एएफपी समाचार संस्थाका अनुसार लगत्तै मङ वान चौ एयर चाइनाको विमान मार्फत चीनको सन्चन सहर फर्किनु भयो ।

मङ वान चौलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ। बीबीसी

Facebook Comments