Wed. Sep 25th, 2024

एमाले रैथाने लोकतन्त्रवादी भएको केपी ओलीको भनाई

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले रैथाने लोकतन्त्रवादी भएको बताउनु भएको छ । जननेता मदन भण्डारीको जीवनमा आधारित पुस्तक श्वेतसार्दुलको विमोचनका क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

ओलीले भन्नुभयो,‘लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताले भन्दा हामीले कम योगदान गरेको छैन । फेरि मैले कांग्रेसले कम गरेको छ पनि भनेको छैन । प्रजातन्त्र अरुले ल्याइदिएको होइन, अरुले ल्याइदिएको प्रजातन्त्र हामीले स्वीकारमात्रै गरेको पनि होइन । हामीले रगत पसिना बगाएर स्थापना गरेको प्रजातन्त्र हो । हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको ७० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर देशको बहुमूल्य समय बर्बाद गरेको अध्यक्ष ओलीले बताउनु भएको छ । ओलीले भन्नुभयो, ‘७० दिनमा सरकारको कामकाजको ढाँचा खै त रु सरकारलाई पूर्णता दिन सकेको छैन। सरकारले जनतामा निराशा थप्ने काम गर्यो । दिउँसै पनि ग्रहण लाग्यो भने नहेर्नु भन्छन् नि । हो अहिले यस्तै भएको छ सरकारले । यो अशुभ हो । देशको बहुमूल्य समय बर्बाद भयो त्यसको चिन्ता हो।’

आफूहरुले २०२४/०२५ मा झापाबाट कम्यूनिष्ट  आन्दोलनको एउटा झिल्को बालेको त्यो अहिले देश विदेशमा फैलिएको बताउनुभएको छ । ‘झिल्को भएपछि फैलिन्छ । यो आन्दोलनको झिल्को अहिले त बढ्दै बढ्दै जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ पुगेको छ’ ओलीले भन्नुभयो ।

अहिले केही अस्थायी घटनाहरु भएको ओलीले बताउनुभयो ।संविधान दिवशको दिन वितरण गरेको तक्माले सरकारको विपक्षमा बोल्ने सबैको मुख थुन्न खोजेको आरोप लगाउनुभयो ।‘निर्णय खारेज गर्ने न्यायधिसलाई पनि तक्मा दिएको छ कसले निर्णय गर्ने,बहस गर्ने वकिललाई पनि दिएको छ कसले बहस गर्ने,टेलिभिजनलाई पनि दिएको सरकारका विरुद्ध को बोल्ने’ अध्यक्ष ओलीले भन्नुभयो‘सबैतिर ढ्याक्ढ्याक्ती ढोका थुनेको छ । कतैबाट विरोधको स्वर नआओस । कतैबाट आवाज नआओस । म प्रधानमन्त्री भएको बेला यसो गरेको भए के हुन्थ्यो ?’

Facebook Comments