Tue. Sep 24th, 2024

राजनीतिक अस्थिरता भएको बेलामा एमसीसीलाई संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भयाे : भीम रावल

काठमाण्डौं, २०७८ भदौं १९ गते शनिबार ।  नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसीलाई संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भएकाे बताउनु भएकाे छ ।

शनिबार काठमाण्डाैमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्याउन लागेको पनि उहाँले बताउनुभयो । उहाँले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशीकरणको बाटोमा पुर्‍याँइदैछ । नेपाललाई पराधिन  उपनिवेश बनाउन पाइँदैन भनेर आ-आफ्नो ठाउँबाट आवाज उठाउनुस्’ उहाँले भन्नुभयो -‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उहाँले उल्लेख गर्नुभयो । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उहाँले बताउनुभयो । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको पनि उहाँकाे भनाइ छ ।

उपाध्यक्ष रावलले  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सूचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिनुभयो ।

‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भैसक्यो लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरीनेछ’ उहाँले भन्नुभयो -‘ म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु ।’ उज्यालो अनलाईन

Facebook Comments