Tue. Sep 24th, 2024

नेपाल र चीनका थिंकट्यांकद्वारा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । नेपाल र चीनका थिंकट्यांकहरुले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६६ औं बर्ष पुरा भएको अवसरमा समुन्नति फाउण्डेसन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको “नेपाल-चीन सम्बन्धका सम्भावना र चुनौतिहरु” का विषयक बृहत वेविनारका सहभागीहरुले दुई देशबीच लामो असल सम्बन्ध रहेको चर्चा गर्दै सम्बन्धलाई अझ विस्तार गदै अगाडि बढाउन अनेक आधारहरुको चर्चा गरेका हुन् ।

वेविनारका अतिथि वक्ता र सहभागीहरुले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिन सक्नेतर्फ जोड दिएका हुन् । कार्यक्रममा नेपालका तर्फबाट चीनका लागि नेपालका पूर्व राजतुत डा. महेश मास्के, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा, प्रोफेसर डा. युवराज संग्रौला र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. रुपक सापकोटाले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै, चीनका तर्फबाट नेपालका लागि चीनका पुर्व राजदुत छीउ कोहोङ, छाहर इन्स्टिच्युटका डा. ली छयाङमीन, सिचुवान विश्वविद्यालयका डा. हुवाङ चङतो र प्रो छङ सीचोङले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

वेविनारमा नेपालका तर्फबाट चीनका लागि नेपालका पूर्व राजदुत डा. महेश मास्केले नेपाल चीन सम्बन्धका विविध आयाम, डा. पिताम्बर शर्माले वर्तमान स्थितिमा बिआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविष्यका विषयमा प्रकाश पार्नु भएको थियो । प्रोफेसर डा. युवराज संग्रौलाले नेपाल, चीन सम्बन्धका सन्दर्भलाई जोड्दै अफगानिस्तानको वर्तमान स्थिती र नेपाल सहित दक्षिण एसियामा यसको प्रभावका विषयमा धारणा राख्नुभएको थियो ।

यस्तै, चीनका तर्फबाट नेपालका लागि पुर्व राजदुत छिउ कोहोङले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्धलाई अझ फराकिलो बनाउने विषयमा आफ्नो दृष्टिकोण राख्नु भएको थियो । चिनियाँ बक्ता डा. हुवाङ चङतोले कोभिड महामारीका सन्दर्भमा नेपाल चीनको साझा भविष्य एवं नेपालको विकास र चुनौतीका विषयमा धारणा राख्नुभयो । चाहर इन्टिच्युटका तर्फबाट अर्का वक्ता प्रो. छङ सीचोङले नेपाल र चीनबीचको सम्बन्धमा प्रभाव पार्न सक्ने बाह्य तत्वहरु र त्यसबाट सावधान रहनुपर्ने पक्षबारे चर्चा गर्नुभएको थियो ।

सय भन्दा बढी सहभागी रहेको वेबिनारमा नेपाल तर्फबाट सहभागिहरुले चीनले नेपालसँग सिमा जोडिएका जिल्लामा गर्ने सहयोग, बिआरआई मार्फत हुने कार्यक्रमहरु र चीनको नेपाल लगायतका दक्षिण एशियाली देशहरुप्रतिको दृष्टिकोणबारे जिज्ञासा राख्नुभएको थियो ।

समुन्नती फाउन्डेसनका महासचिव हरिराज अधिकारीले स्वागत गर्नुभएको उक्त वेबिनारमा फाउन्डेसनका अध्यक्ष रेखा शर्माले नेपाल-चीन सम्बन्ध र आगामी दिनमा गर्न सकिने सहकार्यका क्षेत्रबारे चर्चा गर्नुभयो । अध्यक्ष शर्माले नेपाल-चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनले कोरोना विरुद्धको खोप प्रदानका गरेकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले चीनले नेपालको आर्थिक एवं सामाजिक विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने विश्वास व्यक्त गर्नु भयो । वेबिनारका सहभागीहरुले नेपाल र चीनबीच रहेको पुरानो एवं सुमधुर सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

Facebook Comments