Tue. Sep 24th, 2024

पंजशीर: तालिबानविरुद्ध उभिएको अफगानिस्तानको एक मात्र प्रान्त

पंजशीर रक्षाका लागि उभिएकाहरूसँग पूर्व अफगान सेनाका सैन्य सवारीहरू छन् ।

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । अफगानिस्तानको राजधानी काबुलभन्दा लगभग १५० किलोमिटर उत्तर पूर्वमा तालिबानको शासनविरुद्ध बलियो गढ छ। भिरालो पर्वतले घेरिएको अफगानिस्तानको एउटा उपत्यका जसले पछिल्लो ४० वर्षमा विभिन्न सैन्य बलहरूलाई भित्रिन दिएको छैन।

पंजशीर उपत्यकाले सन् १९८० को दशकमा सोभियत सङ्घ र अफगान सरकारी सैन्य बलले गरेका कैयौँ आक्रमणहरूको प्रतिकार गर्दै सोभियत सङ्घले गरेको कब्जाको विरोध गरेको थियो। उक्त क्षेत्र सन् १९९६ देखि २००१ का बीच तालिबानविरुद्ध पनि उभियो। “पछिल्लो दुई दशकमा यो क्षेत्रलाई अफगानिस्तानको सबैभन्दा सुरक्षितमध्ये एक मानिन्थ्यो,” बीबीसी अफगानका मरियम अमानले भन्नुभयो।

अफगानिस्तानका ३४ प्रान्तमध्ये तालिबानले कब्जा जमाउन नसकेको एक मात्र प्रान्त पंजशीर उपत्यका हो। तर अहिले भने इस्लामिक समूहले त्यहाँ आफ्नो पकड स्थापित गर्नका लागि फौज परिचालन गर्न लागेको जनाएको छ। “हामी दोस्रो पटक तालिबानको सामना गर्न तयार छौँ,” पंजशीर इकोनोमिक्स डिपार्टमेन्टका प्रमुख अब्दुल रहमानले भन्नुभयो। उहाँको भनाइमा तालिबानले अपदस्थ गरेको अशरफ गनी सरकारका राष्ट्रपति रहिसक्नु भएका अमरुल्ला सालेहले समर्थन जनाउनु भयो। उहाँले राष्ट्रपति गनीको अनुपस्थितिमा आफू “अफगानिस्तानको वैधानिक अन्तरिम राष्ट्रपति” रहेको स्वघोषणा गर्नुभएको छ ।

अफगानिस्तानको गुप्तचर निकायका पूर्वप्रमुख समेत रहिसकेका सालेहले अफगान नागरिकहरूलाई तालिबानविरुद्ध प्रतिरोधमा सहभागी हुन अपिल गर्नुभएको छ ।

“म तालिबानसँग एउटै छतमा कहिल्यै रहने छैन। कहिल्यै पनि,” उहाँले ट्विटरमा लेख्नु भएको छ । तालिबानविरुद्ध यो सन्देशले कैयौँ अफगानहरूलाई आकर्षित पार्ने अमान बताउनु हुन्छ ।

एनएफआरका वैदेशिक सम्बन्धका प्रमुख अली नजारीले हजारौँको सङ्ख्यामा रहेको फौजका साथ पंजशीरको रक्षा गर्नका लागि तयार रहे पनि आफूहरूले शान्ति र विकेन्द्रीकृत सरकारमा आधारित बस्ती चाहेको बताउनु भयो । कुनै समस्या उत्पन्न भए भूगोल उनीहरूको पक्षमा हुनेछ। पंजशीरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्।

बीचबाट पंजशीर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर-पश्चिम पाकिस्तानबीच रहेको हिन्दुकुश पर्वत शृङ्खला नजिक छ।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ। तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन।

“यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन,” बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्नुहुन्छ । “न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पुर्‍याउँछ।” उक्त क्षेत्रमा १५०,००० देखि २००,००० बासिन्दाहरू छन् जसमध्ये लगभग सबैले पर्सिअन बोल्छन् र ताजीक जातिका हुन्। यो वर्षौंदेखि तालिबान विरोधी जनसङ्ख्या हो।

अहमद शाह मसूद र उहाँका पिता देखिएको होर्डिङ बोर्ड

तालिबान विरोधी व्यक्तित्वहरूमा अहमद शाह मसूद एक मुजाहिदीन गुरिल्ला हुनुहुन्थ्यो । अमेरिकामा सेप्टेम्बर ११ को आक्रमणको दुई दिनअघि अलकायदाले उहाँको हत्या गरेको थियो। उहाँले सन् १९८० देखि १९९० बीच उक्त क्षेत्रको स्वायत्तताका लागि लड्नु भएको थियो ।

“लाएन अफ पंजशीर” (पंजशीरको अर्थ “पाँच सिंह” हो) का रूपमा परिचित उहाँको तस्बिर अफगानिस्तानको राजधानीका कैयौँ स्थानहरूमा देख्न सकिन्छ।

“अहमद शाह मसूदले पंजशीरलाई अफगान-सोभियत युद्ध (९१९८ को दशक) मा गढको रूपमा प्रयोग गर्नुभएको थियो । अमान बताउनु हुन्छ ।

मुजाहीदिन र तालिबानका विभिन्न गुटबीच सन् १९९० को बीचदेखि सन् २००१ सम्म (जति बेला तालिबान सत्ताबाट बाहिरिएको थियो) भएको युद्धका बेला पनि उक्त उपत्यका महत्त्वपूर्ण रहेको उहाँ बताउनु हुन्छ ।

सन् १९९० को दशकमा मुजाहीदिन फौज

“सन् २००१ मा मसूदको मृत्युपछि पनि यस क्षेत्रले तालिबान विरुद्धको लडाइँमा प्रतिरोधको आफ्नो विरासत कायम राखेको छ।” धेरै अफगानहरूका लागि मसूद सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँलाई राष्ट्रपति हमिद कर्जाइले राष्ट्रनायक घोषणा गर्नुभएको थियो ।

सन् २०१२ देखि उहाँको मृत्यु भएको दिनलाई सहिद दिवस र अहमद शाह मसूद दिवसका रूपमा मनाईन्छ । बीबीसी

Facebook Comments