Tue. Sep 24th, 2024

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको लागिनिर्वाचन अधिकृत खटाइँदै

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो ।

पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको अन्तिम सूची र जिल्ला निर्वाचन अधिकृत खटाइने जानकारी दिनुभयो । विवाद समाधान गर्न बाँकी रहेका केही जिल्लामा क्रियाशील सदस्यता सूची

र जिल्ला निर्वाचन अधिकृत खटाउन थप एक/दुई दिन समय लाग्न सक्ने जनाएको छ । बिहीबारसम्म पार्टीले निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची हस्तान्तरण गर्नेछ । पार्टी सभापतिले क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएपछि महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनेछ । सबै जिल्लाका पठाइने जिल्ला निर्वाचन अधिकृतको सूची तयारी अवस्थामा रहेको जनाइएको छ । पार्टी निकट रहेका शिक्षक, प्राध्यापक, कानुनविद् सम्बद्ध शुभेच्छुक संस्थाबाट जिल्ला निर्वाचन अधिकृत खटाउँदैछ । जिल्लामा पठाइने जिल्ला निर्वाचन अधिकृतलाई आफ्नो या वरपरको जिल्लामा समेत नपठाउने नीति निर्वाचन समितिले बनाएको छ । आफ्नो या नजिकको जिल्लामा जाँदा पार्टीको निर्वाचनलाई प्रभावित हुन सक्ने पक्षलाई विचार गरी यस खालको नीति बनाइएको जानकारी निर्वाचन समितिका संयोजक यादवले दिनुभयो ।

जिल्लाका वडा, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भने जिल्लाभित्रकै शुभेच्छुक संस्थाका व्यक्तिहरूलाई नै मतदान अधिकृत बनाइनेछ । उहाँले जिल्ला निर्वाचन अधिकृत सम्बद्ध जिल्लामा गइसकेपछि स्थानीय तहमा रहेका पार्टीको संरचनाको अधिवेशनका लागि मतदात अधिकृत खटाइने बताउनुभयो ।

यसैबीच काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय निर्वाचन समितिले पार्टीसितको समन्वयमा महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको छ । जिल्ला जिल्लामा पुगेका निर्वाचन अधिकृतले पार्टीसितको सल्लाहमा मतदान अधिकृत खटाउने छ । उहाँले क्रियाशील सदस्यतालगायतका पार्टीभित्रका विभिन्न समस्याको छिनोफानो भएकाले अब महाधिवेशन सहज तरिकाले अघि बढ्ने जानकारी दिनुभयो । महाधिवेशनका लागि अब सबै बाटो खुला भएको उहाँको भनाइ छ । गोरखापत्र अनलाईन

Facebook Comments