Tue. Sep 24th, 2024

नेपाली कांग्रेसका उपसभापित पौडेलद्वारा क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न आग्रह

काठमाण्डौं, २०७८ भदौं ९ गते बुधबार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय छानविन समितिले टुङ्गो लगाएको पार्टीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरुले बसेको धर्नाको बुधबार समर्थन जनाउँदै उहाँले सो माग गर्नुभएको हो ।

“मैले सभापतिलाई यस विषयमा अवगत गराएको छु, ध्यानाकर्षण गराएको छुँ तर आजसम्म सार्वजनिक गरिएको छैन” उहाँले भन्नुभयो । पार्टी मुख्यालय सानेपामा नेता पौडेल पक्षका सभापतिहरुले केही दिनदेखि क्रियाशील सदस्यता टुङ्गो लगाउन माग गर्दे रिले अनशन शुरु गर्नुभएको छ ।

तीन सदस्यीय उच्चस्तरीय समितिले सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ । कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकसहितको तीन सदस्यीय समितिले क्रियाशील सदस्यताबारे लामो समयपछि टुङ्गो लगाएको थियो ।

देशभरिका कार्यकर्तालाई पनि क्रियाशील सदस्यताबारे जानकारी दिन आवश्यक रहेको पनि नेता पौडेलले बताउनुभयो । “केन्द्रीय छानविन समितिले टुङ्गो लगाएको नामसूचीमा नाम थपघट भइरहेको गुनासो आएको छ, यो राम्रो होइन” उहाँले भन्नुभो । नेपाली काँग्रेसको जीवनमा यस्तो विश्वासको संकट आएको थिएन, यसलाई समाधान गरेर जानुपर्छ उहाँले बताउनुभयो ।

संवैधानिक व्यवस्थाअनुसार सोही समयमा चुनावको काम शुरुभयो भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुहुँदै नेता पौडेलले “विधानको परिधिभित्रै पार्टीको महाधिवेशन शुरु हुनुपर्छ” भन्नुभयो । वैधानिक संकटबाट पार्टीलाई बचाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

उच्चस्तरीय समितिले एउटा मापदण्ड बनाएर सभापतिलाई प्रतिवेदन बुझाएको छ, त्यही आधारमा काम गर्न उहाँले आग्रह गर्नुभयो । एक दुई दिन इमान्दारितापूर्वक काम गर्ने हो भने क्रियाशील सदस्यको छानविनको टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद सबै मिलेर सहमतिमा टुङ्गो लगाए मात्र पारदर्शी काम हुने उहाँले बताउनुभयो । नेता पौडेलले भन्नुभयो, “पार्टी भित्रको विवादलाई हामी सबै मिलेर सल्टाउन सक्छौं, त्यसो गर्दा नै पारदर्शी काम हुन्छ ।”

तीन सदस्यीय उच्चस्तरीय समितिले दिएको प्रतिवेदन ठीक रहेको बताउनुहुँदै नेता पौडेलले समस्या समाधानको उपाय पनि प्रतिवेदनले दिएको बताउनुभयो । सोअघि आज नेता पौडेल पक्षका नेताहरुको भेला महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सम्पन्न भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments