Tue. Sep 24th, 2024

अफगानिस्तानमा सैनिक राख्ने कि नराख्ने भन्ने विषयमा अमेरिकाले २४ घण्टाभित्र निर्णय लिने

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने कि नराख्ने भन्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् ।

राष्ट्रपति बाइडनलाई उहाँका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन्।

मङ्गलवार हुने जी-सेभेनको भर्चुअल शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुनेछ। तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन्।

पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसहरूलाई उद्धार गरिएको छ। स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको छ।

यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ। तर यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउनेछन्।

तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको छ। हालसम्म अफगानिस्तानबाट दशौँ हजारलाई उद्धार गरिएको छ तर भाग्न खोजिरहेका अरू मानिसहरू काबुल विमानस्थलभित्र वा नजिकै कोचिएर बसिरहेका छन्। बीबीसी

Facebook Comments