Tue. Sep 24th, 2024

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगम भन्छ अझै पनि घाटै छ

Petrol

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढाएको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु.२  तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु २ नै वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु. १ सय ३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु. १ सय १३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु. १ सय २८, डिजल र मट्टीतेल प्रतिलिटर रु. १ सय ११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर रु एक हजार ४ सय २५ मा कारोबार हुँदै आएको ग्यास अब रु १ हजार ४ सय ५० पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु. ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४ सय २० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु. १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु. ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु. १ अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

Facebook Comments