Tue. Sep 24th, 2024

अफगान नागरिकको उद्धारका लागि गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताउनु भयो ।

“यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन,” ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भन्नुभयो, “हामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रन सक्छ।”

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन्।

विवरणमा कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन्। आइतबारको दृश्य अन्य दिनको तुलनामा केही शान्त भएको विवरण आएका छन्।

यूकेको सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले गर्दा देश छाड्ने अपेक्षा गरिरहेकाहरूको प्रक्रिया चाँडै अघि बढेको बताउनु भयो । बीबीसी

Facebook Comments