Tue. Sep 24th, 2024

अब कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने महानगरको योजना

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार ।  काठमाडौं महानगरपालिकाले कर नतिर्नेहरुबाट कर उठाउन नयाँ शैलीको प्रयोग गर्ने योजना बनाएको छ । अब उप्रान्त काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन र कार्यालय परिसरमै पुगेर पञ्चेबाजा बजाउने भएको छ ।

महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय र घर-आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार यि करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

‘रचनात्मक ढंगले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौं,’ उहाँले भन्नुभयो,’पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’ उहाँले मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो ।

अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालाजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । ‘महिलाहरुको सो सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ,’ उहाँले भन्नुभयो।

अनलाईन खवरका अनुसार कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा. अधिकारीकाले बताउनु भयो ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।

सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।

Facebook Comments