Tue. Sep 24th, 2024

काबुलबाट हवाई उद्धार गर्दा मानिसहरू मारिन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी

काठमाण्डौं, २०७८ भदौं ५ गते शनिबार । अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताउनु भएको छ ।

काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उहाँले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताउनु भयो ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताउनु भयो ।

दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन।

तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले “इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार” मा १३,००० जनाको उद्धार गरिसकिएको बताउनु भयो।

तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्‍याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ।

बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताउनु भएको थियो ।

तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन्।

शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ।

तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहनु भएको छ । बीबीसी

Facebook Comments