Mon. Sep 23rd, 2024

कान्तिपुर दैनिकको सम्पादकमा उमेश चौहान नियुक्त

काठमाडौं, २०७८ असार २६ गते शनिबार । कान्तिपुर दैनिकको सम्पादक पदमा उमेश चौहान नियुक्त हुनुभएको छ । दुई दशकदेखि पत्रकारिता पेसामा संलग्न पत्रकार चौहानलाई शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वागत गर्नुभयो ।

यसअघि नयाँ पत्रिका दैनिकको सम्पादक पदमा कार्यरत रहनु भएका अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग रेडियो र टीभीको पनि कार्यानुभव छ ।

चौहानले कान्तिपुर समाचार कक्षमा प्रधान सम्पादकको मातहत रही सम्पादकीय सामग्रीको संयोजन एवं उत्पादन गर्ने व्यवस्थापनले जनाएको छ । उहाँलाई स्वागत गर्दै केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुरलाई समयसापेक्ष सुधार गर्दै थप उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

प्रधान सम्पादक शर्माले नेतृत्वदायी सहकर्मीका रूपमा चौहानलाई समाचार कक्षमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भयो । नवनियुक्त सम्पादक चौहानले नेपाली पत्रकारितामा कान्तिपुरको आफ्नै विरासत, शैली र प्रभाव रहेकाले त्यसलाई थप समृद्ध बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो । कान्तिपुर अनलाईन

Facebook Comments