Sat. Sep 21st, 2024

संसदमा जसपाको दुई स्वर, महन्थ ठाकुर ओली सरकारप्रति नरम, उपेन्द्र यादव गरम

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि आह्वान गरिएको आजको संसद बैठकमा जनता समाजावादी पार्टीका नेताहरुको ओली सरकारप्रति नरम र गरम स्वर सुनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन लगत्तै प्रतिनिधि सभाको विशेष अधिवेशनमा जसपाका नेता महन्थ ठाकुर र उपेन्द्र यादवले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा ओली सरकारप्रति ठाकुर र यादवको परस्पर विरोधी अभिव्यक्ति सुनियो । ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम रुपमा प्रस्तुत हुनुभयो भने यादव आक्रामक रुपमा प्रस्तुत हुनुभयो ।

सम्बोधनका क्रममा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाउन समेत भ्याउनु भयो । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको भन्दै उहाँले ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनु भयो । यादवले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गर्नुभयो ।  ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै  यादवले त्यो राजनीतिक स्वार्थ बाहेक अरु केही हुन नसक्ने पनि बताउनु भयो ।

ट्रान्सपरेन्सी इन्टरनेशलनको प्रतिवेदनलाई उदृत गर्नुहुँदै यादवले ओली सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको बताउनु भयो ।  साथै यादवले प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

तर नेता महन्थ ठाकुरले  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुका केही माग सम्बोधन गर्नुभएको, केही कार्यकर्ताहरुलाई रिहाई गरिएकोमा सरकारको प्रसंशा गर्नुभयो । तर आफूहरुको केही माग सम्बोधन गरेको भएपनि त्यो अझै पर्याप्त नभएकाले मतदानमा आफू तटस्थ बस्ने बताउनु भयो । ठाकुरले भन्नुभयो,  ‘यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन’, ।

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै ठाकुरले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको बताउनु भयो ।

 

Facebook Comments