Sat. Sep 21st, 2024

काठमाडौं उपत्यकामा तीन हजार ११३ सङ्क्रमित थपिए

काठमाडौं, २०७८ बैशाक २५ गते शनिबार । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् ।देशभरि पछिल्लो चौबीस घण्टामा आठ हजार २८७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा दुई हजार २७० सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा चौबीस घण्टामा थपिएका सङ्क्रमित शुक्रबार चौबीस घण्टाको अपेक्षा करिब एक हजारले कम हो ।

उपत्यकाको तीन जिल्लामा हाल ३५ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा पाँच हजार ७१२ र भक्तपुरमा तीन हजार ५४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख ४१ ह्जार ८२६, ललितपुरमा २३ हजार ७५८ र भक्तपुरमा १३ हजार ६२६ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा एक लाख १४ हजार ५८०, ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४ जना निको भएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments