Thu. Nov 14th, 2024

विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा, हिँडडुल गर्न रोक

- कोरोना महामारीको त्राहि बढ्दो

फाईल फोटो

काठमाडौं, २०७८ बैशाक १८ गते शनिबार । मोरङको विराटनगर महानगरपालिकामा एक साताको लागि निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरिएको हो । कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने, दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने र सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुने बताइएको छ ।

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

यसअघि सुनसरी जिल्ला प्रशासनले शुक्रबार राति १२ बजेपछि २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

Facebook Comments