Sat. Sep 21st, 2024

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी रानीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं, २०७८ बैशाक ७ गते मंगलबार । भारत भ्रमणबाट फर्किनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उहाँहरूका एक सहयोगीले पुष्टि गरेका छन्। ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुनुभएको थियो । पूर्वराजदम्पती नयाँ‍दिल्लीबाट आइतवार नेपाल फर्किनु भएको हो । काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा उहाँहरूमा सङ्क्रमण देखिएको पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकले बताउनु भयो ।

उहाँका अनुसार अहिले पूर्वराज दम्पत्ति निर्मल निवासमा आइसोलेसनमा बसिरहनु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता मङ्गलवार कुम्भमेलामा गङ्गास्नान गर्नुभएको थियो। त्यहाँ उहाँले केही साधुसन्तसँग पनि भेटघाट गर्नुभएको थियो । भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। बिबिसी

Facebook Comments