Fri. Sep 20th, 2024

एमाले पार्टी कार्यालय थापाथलीमा सार्ने तयारी, प्रधानमन्त्रीद्वारा नयाँ भवनको निरीक्षण

काठमाडौं, २०७७ चैत ११ गते बुधबार प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गर्नुभएको थियो । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सार्न लागिएको जानकारी दिनुभयो । “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसैले थापाथलीमा कार्यालय सार्न थालिएको हो । हामी चाँडै सर्छौ । ”

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवनलाइ मासिक रु दुई लाख २५ हजार भाडा तिरिँदै आएको थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ । गोरखापत्र

Facebook Comments