Fri. Sep 20th, 2024

प्रजनन् केन्द्रका ७० वटा गोही राप्ती नदीमा छाडियो

काठमाडौं, २०७७ माघ २६ गते सोमबार

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकृत लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएको हो । ती सबै गोहीलाई कसरानजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुुभयो । यस आर्थिक वर्षमा १०० वटा गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोसी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

Facebook Comments