Fri. Sep 20th, 2024

देशलाई अलमलमा पर्न दिंंदैनौंः प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ माघ १९ गते सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अब अलमलमा पर्न नदिइने बताउनुभएको छ । देशद्रोही र भ्रष्ट तत्वलाई साथ नदिन उहाँले सबैमा आव्हान गर्नुभयो ।

शहीद हेमनारायण यादवको सत्रौं स्मृतिसभालाई सोमबार सिराहामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । जातको आधारमा शासन व्यवस्था कायम गर्न सम्भव नरहेकाले सरकारले सबै नेपालीलाई समान दृष्टिकोण र समानताका आधारमा व्यवस्था गरिएको उहाँले बताउनुभयो । कतिपय मानिसहरु जातको आधारमा राजनीति गर्ने प्रयास गरेपनि त्यसबारे जनता सचेत भइसकेको उहाँले बताउनुभयो । मधेसी समुदायमाथि अन्याय र विभेद हुन नदिइने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“हामीले एउटै हावामा श्वास फेरिरहेका छौं, एउटै देशमा बाँची रहेका छौं, एउटै अस्पतालमा उपचार गरिरहेका छौं” अवको समय समानता र न्यायको रहेको उहाँले बताउनुभयो । गाउँमा अझै बोक्सीको आरोपमा महिलालाई पीडा दिने गलत काम भइरहेको चर्चा गर्नुहुँदै त्यस्तो अन्धविश्वासमा नफँस्न सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अध्यक्ष प्रचण्डले आदमखोर (मांसाहारी) आन्दोलन गर्न खोजेका छन्, तर आज त्यो अवस्था छैन ।” नरभक्षी आन्दोलन अब चल्न सक्दैन भन्नुहुँदै उहाँले थप्नुभयो, “अहिले साकाहारी आन्दोलनबाहेक अन्य विकल्प छैन ।” जनतालाई भड्काउने र भ्रममा पार्ने प्रयास प्रचण्ड-माधव पक्षले गरेपनि जनता सचेत भइसकेको बताउनुभयो ।

वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन तय भएकाले देशभक्त र विकासप्रेमी प्रतिनिधिलाई विजय गराएर पठाउन उहाँले आग्रह गर्नुभयो । “तीन वर्षदेखि पार्टी अलमलिएर बसेको थियो, केही मानिस बाहिर गएपछि पुनः पार्टी गतिशील भएको छ ।” उच्च मनोबल लिएर आत्मविश्वास लिएर संगठित र योजनाबद्ध रुपले जनताको बीचमा जानुस्, भ्रमहरु सबै चिर्नुस् उहाँले आव्हान गर्नुभयो ।

देशमा समृद्धि कायम गर्न प्रतिनिधिसभा विघटन गरिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनबाट पुनः प्रतिनिधिसभा गठन हुने बताउनुभयो । विकास अभियानमा तराईको ठूलो साथ रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तराई-मधेस जागेको छ, यहाँका नागरिकहरु लोकतन्त्र स्थापनामा ठूलो योगदान दिनुभएको छ, म तराईबासीलाई सलाम गर्छु ।”

अलमलाउन खोज्ने तत्वसँग सजग रहन आग्रह गर्नुहुँदै उहाँले थप्नुभयो, “हामी कसैको सभा र कार्यक्रम विथोल्ने प्रयास गर्दैनौं, तर अरुले गरिरहेका छन् ।” हामी शान्तिको पक्षमा छौं, अरु अशान्तिका पक्षमा छन् भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “गणतन्त्रका प्रतीक राष्ट्रपति संस्थाप्रति प्रहार भइरहेको छ, सर्वोच्च अदालत, निर्वाचन आयोगलाई काम गर्न नदिएर धम्क्याउने काम भएको छ ।” तर त्यसबाट कोही डराउन नहुने उहाँले बताउनुभयो । गोरखापत्र

Facebook Comments