म्यानमाकी नेत्री आङसाङसुकी पक्राउ
काठमाडौं, २०७७ माघ १९ गते सोमबार
म्यानमा(वर्मा)काे सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ पर्नुभएको छ ।
सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उहाँ पक्राउ परेको जनाएको हो । म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा नोवेल शान्ति पुरस्कार विजेता सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो । म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उहाँलाई लामो समयदेखि घरमै बन्दी बनाइएकाे थियो । नयाँ गठित तल्लो सदनकाे बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो ।
म्यानमाकाे राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।