Fri. Sep 20th, 2024

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौं, २०७७ माघ १८ गते आईतबार

नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिनु भएको हो ।

चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दाबी पनि दूतावासले गरेको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

Facebook Comments