अविरल वर्षाका कारण मुख्य राजमार्ग तथा सडक अवरुद्ध, विभिन्न जिल्लामा यातायात प्रभावित
भिओके समाचार/काठमाण्डू । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी तथा सडक अवरोध हुँदा मुख्य राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। असोज १० गते साँझ ७ बजेसम्मको सडक अवरोधसम्बन्धी विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका छन्।
नेपाल प्रहरीले उपलब्ध गराएको विवरणमा सडक अवरुद्ध भएका स्थान, अवरोधको अवस्था, सडक खुलाउने प्रयास तथा सवारी आवागमनका लागि जारी गरिएका सूचनाहरू समेटिएका छन्।
कोशी प्रदेशमा सडक अवरोध
कोशी प्रदेशअन्तर्गत सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुर र पाँचथरका विभिन्न सडकखण्डमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको विवरणमा उल्लेख छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था गरिएको छ।
बागमती प्रदेशमा पनि यातायात प्रभावित
बागमती प्रदेशका काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक र चितवनका विभिन्न सडकखण्डमा अवरोध देखिएको छ।
विशेषगरी पहाडी तथा नदी आसपासका सडकमा पहिरो, सडक भासिने र बाढीको जोखिमका कारण सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्डमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ भने केहीमा निश्चित समय र सर्तसहित आवागमनको व्यवस्था गरिएको छ।
सवारी चालकलाई सतर्क रहन आग्रह
वर्षा जारी रहेकाले सडकमा थप पहिरो खस्ने, बाढी आउने र सडक अवरुद्ध हुने जोखिम कायम छ। सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अवरुद्ध सडकमा जबर्जस्ती सवारी नचलाउन आग्रह गरेका छन्।

