अविरल वर्षाका कारण दुईजनाको मृत्यु, विभिन्न स्थानमा डुबान
एआईद्वारा निर्मित फोटो
काठमाण्डू । अविरल वर्षाका कारण आएको बाढीपहिरो र हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । एक जना घाइते भएका र पाँचवटा घरमा क्षति पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार शुक्रबार आएको वर्षाका कारण देशका विभिन्न भागमा सो क्षति भएको हो। मृत्यु हुनेमा धादिङका एक जना र डोल्पाका एक जना रहनुभएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो ।
प्रवक्ता महतका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ का ३३ वर्षीय मनरुप केसीलाई गाईगोठमा सुतिरहेको अवस्थामा भिरबाट ढुंगा खसेर लागेको थियो । उहाँ गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य चौकी लैँजादै गर्दा मृत्यु भएको थियो । सोही घरमा सुतिरहनुभएका ३८ वर्षीय चन्द्ररुप केसी घाइते हुनुभएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका, वडा नं २ का ५५ वर्षीया सुकुमाया चेपाङ्गलाई खानीखोला तर्ने क्रममा खोलाले बगाएको थियो । मलेखुस्थित अस्पतालमा उपचारका क्रममा चेपाङ्गको मृत्यु भएको थियो । पहिरोमा परी पाल्पा रुम्दीकोट गाउँपालिका वडा नं ६ का ५९ वर्षीया कृष्णकुमारी सारु शनिबार दिउँसो २ः४५ बजेदेखि बेपत्ता हुनुभएको छ । पहिरोले घर पुरिएपछि सारु हालसम्म सम्पर्कविहीन रहनुभएको प्राधिकरणले जनाएको छ।
वर्षाका कारण पाल्पाको रुम्दीकोट गाउँपालिकाका दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण पुरिँदा स्थानीय केशुराम सारु मगर र रामबहादुर उचाईको घर क्षतिग्रस्त भएका हुन् । त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका ३ का धनप्रसाद योङ्गहाङ्गको घर ढली पूर्णरुपमा क्षति भएको गोरखापत्र अनलाईनले जनाएको छ।

