Sat. Jun 13th, 2026

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

       

भोजपुर । परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो ।

कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको हो। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले रु २० लाखको कार्यक्रम सञ्चालन गरेको  छ । जसमा गाउँपालिकाको रु १० लाख र किसानको रु १० लाख लागत साझेदारी रहेको छ । यस कार्यक्रममार्फत वडा नं ६ ठूलोदुम्माका सात वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलोदुम्माको करिब १०० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो । यहाँ अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले यसको खेती विस्तारमा जोड दिएको उहाँको भनाइ छ ।

“अदुवा खेतीले बजारमा राम्रो मूल्य पाउने र दीर्घकालीन रूपमा आम्दानी दिन सक्ने भएकाले यसको सम्भावना राम्रो देखिएको छ,” उहाँले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राइले विगत वर्षदेखि बादरको आतङ्कका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति हुँदै आएको बताउनुभयो। बादर आतङ्कको विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड दिएको उहाँले जानकारी दिनुभयो ।

“बादरका करण किसानले लगानी गरेको मेहनत खेर जाने अवस्था बनेपछि हामीले वैकल्पिक समाधान खोज्नुप¥यो,” उहाँले भन्नुभयो, “अदुवा खेतीमा बादरको क्षति न्यून हुने भएकाले किसानलाई यसतर्फ प्रोत्साहित गरेका हौँ ।”

कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले किसानलाई बारीमै पुगेर तालिम, प्राविधिक परामर्श तथा अनुगमन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । अदुवा खेतीको सम्भावना उच्च भएकाले सही प्रविधि र आवश्यक व्यावस्थापनको विषयमा किसानलाई जानकारी दिने काम भइरहेको उहाँको भनाइ छ ।

“ठूलोदुम्मा क्षेत्रमा अदुवाको राम्रो सम्भावना छ” उहाँले भन्नुभयो, “अन्यबालीको तुलनामा बाँदरले अदुवा खेतीमा कम क्षति पु¥याउने भएकाले किसान यसको खेतीमा लागेका छन् । हामी पनि किसानलाई खेतबारीमा पुगेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ ।”

गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनुभयो । “हामी किसानलाई परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ रूपान्तरण गराउँदै लैजान चाहन्छौँ,” अध्यक्ष राईले भन्नुभयो, “फलफूल, अदुवा, बेसारजस्ता नगदेबालीमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र आयस्तर बढाउने हाम्रो योजना हो ।”

अनुदान सहयोग पाएपछि अदुवा खेती विस्तार गर्न निकै सहज भएको स्थानीय किसान दिलिप राईले बताउनुभयो । उहाँका अनुसार पहिले मकै तथा अन्य बाली लगाउँदा बादरले धेरै नोक्सान पु¥याउने गरेको थियो । “अदुवा खेतीमा भने बादरको क्षति कम हुन्छ”उहाँले भन्नुभयो, “त्यसैले अहिले हामी व्यावसायिक रूपमा यसतर्फ जुटेका छौँ । खेती विस्तारका लागि गाउँपालिकाको सहयोग महत्वपूर्ण बनेको छ ।”

स्थानीयस्तरमै उत्पादन वृद्धि गर्दै बजारसँग जोड्न सकेमा अदुवा खेतीले किसानको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अर्का युवा किसान समिर राईले बताउनुभयो । बाँदरले कम क्षति गर्ने भएकाले हाल आफूले ३० क्षेत्रमा अदुवा खेती विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।  आगामी दिनमा थप क्षेत्रफलमा अदुवा खेती विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । रासस

Facebook Comments