Thu. May 2nd, 2024

चीनका राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणको वर्षगाँठमा पुस्तक सार्वजनिक

काठमाडौं, २०७७ असोज २७ गते मंगलबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपाल भ्रमण गर्नुभएको एक वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङस् नेपाल भिजिट: अ पिक्टोरियल गाइड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपालले सो पुस्तक सार्वजानिक गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ कसिलो बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो। चीनका राष्ट्राध्यक्ष सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै भन्नुभयो, “कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं? समीक्षा गर्दै सहमति कार्यन्वयनमा जोड दिनुपर्छ।” नेपाल अहिलेसम्म चीनको विश्वासिलो मित्र भएको भएको चर्चा गर्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशको रुपमा अघि बढ्न चाहेका छौं।”

गोरखापत्र अनलाइनका अनुसार पछिल्लो समय सी चिनफिङले चीनको नेतृत्व सम्हाल्नु भएपछि बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको अवधारणा अगाडि सार्नुभएको थियो। “पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो, सिङ्गो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव राष्ट्राध्यक्ष सीले अगाडि सार्नुभयो, त्यो अत्यन्तै सह्रानीय छ” नेता नेपालले भन्नुभयो।

चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनवीच कुटनीतिक सम्बन्ध स्थापना भए यताका विभिन्न महत्वपूर्ण आयामहरुका बारेमा चर्चा गर्नुभयो। सीमासम्बन्धी सन्धी, पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको थियो। चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्ष भ्रमणका रुपमा राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उहाँले चर्चा गर्नुभयो।

नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनका राष्ट्राध्यक्ष सी बाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेको स्मरण गर्नुभयो। भ्रमणले द्धिपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताउनुभयो। पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ मा चीनका राष्ट्राध्यक्ष सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ विएम रेग्मीका लेखहरु समावेश गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

Facebook Comments