जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ: गृहमन्त्री गुरुङ
सुनसरी । गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
आज इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उहाँले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्कोपटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उहाँले बताउनुभयो । नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गृहमन्त्री गुरुङले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि प्रत्येक नागरिकलाई सम्मान गर्नुपर्ने बताउनुभयो । पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उहाँले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उहाँले यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताउनुभयो ।
सुशासन र समृद्धिको अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नो पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको समेत साथ र सहकार्य रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति उहाँले आभार व्यक्त गर्नुभयो । समुदायले अप्ठ्यारो परिस्थितिमा दिएको साथ र जनताबाट प्राप्त आशीर्वादले आफूलाई अघि बढ्न प्रेरणा मिलेको उहाँको भनाइ थियो । रासस

