विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
- सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा ।
- नेपालमा मङ्सिर १८ देखि पुस ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने ।
- नेपालले पहिलो खेल मङ्सिर १८ गते इटालीसँग खेल्ने ।
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि टोली घोषणा गरेको हो ।
घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् । आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले मङ्सिर २० गते युगान्डा, मङ्सिर २४ गते संयुक्त अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर २८ गते क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्ने तालिका छ । नेपालले खेल्ने सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी आठवटै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले अर्को चरणमा स्थान बनाउनेछन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिनेछन् । रासस

