Fri. Nov 22nd, 2024

योग के हो ?

काठमाडौं, २०७७ जेठ ७ गते बुधबार
डा.भक्त राई

-डा.भक्त राई

विषय प्रवेश
“योग” शब्दको अर्थ जोड वा मिलन हो। अर्थात दुई वा दुइभन्दा बढी वस्तु मिलेर एक हुनु,एकाकार हुनु नै योग हो । तर “योग” शब्दको अर्थ दार्शनिक सन्दर्भमा भने फरक छ । योगाभ्यासद्वारा मोक्ष प्राप्ति गर्न सकिन्छ भन्ने मान्यता राख्ने दार्शनिक सम्प्रदायलाई योग दर्शन भनिन्छ ।

तर प्राचीन मौलिक योग दर्शन र पछिको योग दर्शनमा भिन्नता रहेको देखिन्छ । शुरुमा योग भनेको शरीर र आत्मालाई जोड्ने अथवा मनको क्रियाकलापलाई नियन्त्रण गरी शरीर सङ्ग जोड्नु वा केन्दृत हुनुलाई योग भनिन्थ्यो तर पछिल्लो समयमा भने योग दर्शनमा ईश्वरलाई घुसाएर योग भनेको मन र ईश्वरबीच सम्योग गराउने अर्थात जीवात्मा र परमात्माको सम्योग वा मिलन हुनु नै योग हो भन्ने मान्यताको विकास हुन पुग्यो । पूर्वीय दार्शनिक एवं धार्मिक चिन्तन परम्परामा योगको ठूलो महत्त्व रहेको देखिन्छ ।

प्रायःसबै धर्मदर्शनले योग, ध्यानलाई प्रत्येक्ष अप्रत्यक्ष रुपमा स्वीकार गरेको देखिन्छ । योग साधनाबाट नै मान्छेले आफ्ना सङकल्प, ध्यान र चिन्तनलाई एकीकृत गरी मोक्षमा पुग्न सकिन्छ भन्ने सोचको विकास भएको देखिन्छ । वर्तमान वैज्ञानिक आधुनिक समयमा समेत योगको माध्यमबाट लक्ष गरिएको क्षेत्रमा केन्दृकृत भएर लक्ष प्राप्त गर्न सकिन्छ भन्ने मान्यताको विकास भइरहेको देखिन्छ । अँध्यारो कोठामा विभित्र सामान छ तर आवस्यक सामान खोज्नका लागि त्यही वस्तुमा मात्र उज्यालोको किरण ( टर्चको फोकस) केन्दृत गरेझैँ हाम्रो छरपस्टिएको मन र ध्यानलाई पनि एकीकृत गरी कुनै पनि विषयमा गहिरो अध्ययन गरी वास्तविकता पत्ता लाउन सकिन्छ भन्ने योग दर्शनको चिन्तन हो । योग दर्शनको प्रारम्भ योगको प्रारम्भ निकै प्राचीन समय अगाडिबाट भएको देखिन्छ ।

योग मानिसको आदिम कालदेखि नै प्रचलनमा आएको देखिन्छ । तर पूर्वीय संस्कृति र सभ्यतामा भने योगलाई व्यबस्थित बनाउने काम वा सूत्रवद्द गराउने काम महर्षि पतन्जलिले गरेका हुन् । पतन्जलिको समय सम्बन्धमा मतैक्यता भेटिदैन तर उनको समय ईशापूर्व दोश्रो शताब्दीतिर मानिन्छ भने उनको योगसूत्रलाई इशापूर्व चौथो शताब्दीतिर मानिन्छ । उनले आफ्नो योगसूत्रमा आफूभन्दा पहिले देखि नै योगको परम्परा रहेको कुरा उनले आफ्नो योगसूत्रमा बताएका छन् । यसबाट के प्रष्ट हुन्छ भने खस-आर्यहरु भारतीय उपमहाद्दीपमा प्रवेश गर्नुपूर्वदेखि नै यस क्षेत्रमा योगको प्रारम्भ भएको थियो ।

आर्यहरु सिन्धुघाटीमा प्रवेश गर्नुपूर्व यस भेगमा किराती सभ्यता र संस्कृतिको विकास भइसकेको थियो । लोकायत अर्थात तत्कालीन लोकबाट आयतित तन्त्र परम्परा, रुद्र परम्परा किरातीबाटै सुरु भएको हो । किनकि रुद्र अर्थात शिव रुद्रेश्वर जसलाई योगको प्रणेता मानिन्छ उनी अनार्य अर्थात किराती भएको हुँनाले पनि योगको प्रारम्भ किराती सभ्यताबाटै शुभारम्भ भएको हो भन्ने बलियो आधार प्राप्त गर्न सकिन्छ ।

यस सन्दर्भमा मोदनाथ प्रश्रीत भन्छन्-आर्यहरु सिन्धुघाटीमा आउनुपूर्व नै तन्त्र परम्परा,योग परम्परा शुरु भइसकेको आभास मिल्छ ।सिन्धुघाटीमा भेटिएका प्राचीन मुर्तिहरुमा ध्यान गर्दै गरेको,योग गर्दै गरेको अवशेष भेटिनु आदिले के देखिन्छ भने योग निकै प्राचीन समयदेखि नै भारतीय उपमहाद्दीपमा प्रारम्भ भएको देखिन्छ । यसैगरी डा.हरिप्रसाद पोख्रेल लेख्छन् -सिन्धुसभ्यताका हडप्पा र मोहोन्जोदडोका उत्खननबाट प्राप्त अवशेषमा पाइएका आसन,ध्यान र सत्सङ्गका रूपमा देखिएका मुर्तिहरु शिव पार्वती नै हुन् भन्ने विद्वानहरुको मत छ । उनी थप्छन् क्रियात्मक योगका क्षेत्रमा शिवपरम्पराले जति काम गर्यो अरुले गरेको देखिन्न ।

शिवको सनातन योग परम्परालाई नै नाथ योग परम्परा,किरात योग परम्परा,तन्त्र योग परम्परा,पाशुपत योग परम्परा,शाक्त योग परम्परा, सिद्दयोग परम्परा,सिद्दमत योग परम्परा,अवधुत योग परम्परा,गोरख बार्हपन्थी योग परम्परा आदि अनेकन नामबाट पनि समाजले चिनिन्छ । यसरी हेर्दा के देखिन्छ भने योग परम्परा पूर्वीय संस्कृति र सभ्यताबाटै सिर्जित जीवनपद्दति वा चिन्तन परम्परा हो जुन किराती संस्कृति र सभ्यताबाटै सुरुवात भएको भन्ने बलियो आधार भेटिन्छ । किनभने वैदिक परम्परामा पनि योगको प्रारम्भकर्ता शिवलाई स्वीकार गरिएको छ भने नाथ सम्प्रदायले पनि आदि नाथ अर्थात नाथको प्रारम्भकर्ता शिवलाई नै मान्दछ ।

यसै गरी शाक्त,सिद्दयोग, पाशुपत आदि सम्प्रदाले समेत शिवलाई नै योगको प्रणेता स्वीकार गरेको र शिव अनार्य अर्थात रुद्रेश्वर वा किरात भएकोले पनि योगको प्रारम्भ किरातबाटै भएको हो भन्न सकिन्छ । अर्को आधार भनेको योगलाइ पहिलो पटक व्यवस्थित गर्दै योगसूत्र तयार पार्ने क्रममा पतन्जलिले योगसूत्रमा आफूले योगको सुरु गरेको नभइ आफूले पूर्व प्रचलित योग परम्परालाई शूत्रवद्द मात्र गरेको भन्ने भनाईबाट पनि के प्रष्ट हुन्छ भने यसको प्रारम्भ तत्कालीन रैथाने जाती किरातीबाटै भएको हो ।

किराती परम्पराबाट सिर्जित तन्त्रवाद र धामीझाक्री परम्परालाई गम्भीर रुपले हेर्दा पनि यही आभास मिल्दछ । वर्तमान समयमा समेत धामीझाक्रीले कुनै पनि विषयमा योगको अभ्यास र प्रयोग गरिरहेको देखिन्छ । जस्तै:जोखना हेर्नू भनेको कुनै पनि विषयमा गम्भीर भएर घोत्लिनु वा ध्यान गर्नु हो । आफ्नो अन्तस्करणको प्रयोग गरी घटना वा विषय र चिन्तनमननको योग गराई उक्त विषय वा घटनाबारे सत्यतथ्य पत्ता लाउने काम वास्तवमा योग नै हो,योगकै स्वरुप हो ।

यसरी नै किराती माङपा, कुवी, फेदाङमाहरुले रातभरि चिन्ता बसेर पनि समाजभित्रको घटना,दुर्घटना वा जोखिमबारे समेत भविष्यवाणी गर्ने काम गर्ने गर्दछ यो पनि योगकै स्वरुप हो । यसरी नै माङ्पा फेदाङ्पाहरुले आध्यात्मिक साधना (तन्त्र मन्त्र) र जडिबुटीलाई (जस्लाइ एउटै शब्दमा भन्दा झारफुक भनिन्छ) योग गराई उपचार गराउने कार्य पनि योग साधना नै हो ।

यसरी हेर्दा योगको प्रारम्भ किरातीबाटै प्रारम्भ भएको हो भन्ने आधार भेटिन्छ परन्तु यसबारेमा विशद अध्ययन र अन्वेषण गर्नु पर्ने देखिन्छ ।

पतन्जली र योग 

पतन्जली र योग पतन्जलीको समयबारे यकिन छैन परन्तु उनलाई इशापूर्व दोस्रो शताब्दी र उनको “योगसूत्र” लाई इशापूर्व चौथो शताब्दीतिरको मानिन्छ । उनले तत्कालीन समयमा आफूपूर्व प्रचलित योग परम्परालाइ व्यवस्थित गरी सूत्रबद्ध गर्ने काम गरे । पतन्जलीको “योगसूत्र” जम्मा चार पाद (खण्डमा) विभाजित छ । ती हुन् ( १) समाधि पाद । यसमा १९५ सूत्रहरु समाविष्ट छन् ।

यस खण्डमा चित्तवृत्तिको वर्णन र व्याख्या गरिएको छ । (२) साधना पाद । यसमा ५५ सूत्र सामावेश छन् भने यस खण्डमा कृयायोगबारे चर्चा गरिएको छ । (३) विभूति पाद । यसमा ५५ ओटा सूत्र सङग्रहित छन् । यस पादमा चित्त, ध्यान, समाधि, सम्यम परिणाम आदिको व्याख्या गरिएको छ । र ( ४) कैवल्य पाद । यस पादमा जम्मा ३४ सूत्र समावेश छन भने सिद्दिप्राप्त गर्ने उपायहरुबारे यस पादमा चर्चा गरिएको छ ।

योगका प्रकार 

योगका अनेकौ प्रकार छन्, उपनिषदमा प्रमुख चार योगबारे चर्चा गरेका छन् । ती हुन्-(१) मन्त्र योग मन्त्रको साधनाद्वारा गरिने योग नै मन्त्र योग हो । यसमा भक्ति, शुद्धि,आसन, पन्चाङ्गको सेवन,आचार, धारणा, प्राणायम, मुद्रा आदि १६ ओटा अङ्गको चर्चा गरिएको पाइन्छ । (२) हठ योग मोक्ष प्राप्तिको निमित्त चित्तवृत्ति निरोधद्वारा आत्मज्ञान प्राप्त गरिने योगलाई हठयोग भनिन्छ । हठ योगको आठ अङग आसन, मुद्रा, प्रत्याहार,प्राण, सम्यम,ध्यान, सामाधि आदि छन् । (३) लय योग लय योगका यम,नियम,स्थुलकृया,सूक्ष्मकृया,प्रत्याहार,धारणा, ध्यान,लयकृया र समाधि गरी नौओटा लय योगका अङ्ग मानिन्छ । काम क्रोध रहित पवित्र र एकाग्र चित्तलाई महाशक्तिमा विलिन गराउनु नै नय लय योग हो । (४) राज योग जीवात्मा तथा परमात्मा एकैभाव सम्बन्धमा निस्चयात्मक बुद्धिको प्रकट हुनु राजयोग हो । अथवा मोक्ष प्राप्तिको लागि गरिने ध्यान नै राज योग हो ।

गम्भीर चिन्तनबाट म नै परब्रह्म हुँ वा परमात्मा हुँ भनी निस्चयभाव गर्नु नै राज योग हो । अष्टाङग योग योग दर्शनको क्षेत्रमा अष्टाङग योगको विशेष महत्त्व छ । पतन्जलिको अष्टाङग योगलाइ निकै वैज्ञानिक मानिन्छ । पतन्जलिको अष्टाङग (आठ अङ्ग) योग देहाय अनुसार छन्-(१) यम मन, वचन र कर्मलाई नियन्त्रण गर्नु नै यम हो । यसभित्र अहिम्सा,सत्य, आस्तेय,ब्रम्हचर्य र अपरिग्रह यी पन्चशीलको पूर्ण रुपले परिपालन गर्नु नै यम हो । (२) नियम हरेक मानिसले आफ्ना जीवनमा पाँचओटा नियम पालना गर्नु पर्दछ ती हुन्-शौच,सन्तोष, तपस (साधना), स्वाध्याय (दैनिक अध्ययन) र ईश्वरभक्ति । यिनै पाँचवटा कर्तव्यको पालना नै नियम हो । (३) आसन शरीरलाई नियन्त्रण वा सही तरिकाले व्यवस्थापन गर्ने तौरतरिकालाई आसन भनिन्छ । आसन अनेकौँ प्रकारको हुन्छन् परन्तु चौरासी आसनलाई प्रमुख मानिन्छ । (४) प्राणायम प्राण अर्थात स्वासलाई नियन्त्रण गर्नु नै प्राणायम हो । योगमा प्राणायमको विशेष महत्त्व छ । अक्सिजन शरीरको प्राथमिक आवश्यकता हो त्यसैले स्वासलाइ प्राण भनिएको हो । प्राण+आयाम अर्थात प्राण भनेको वायु र आयम भनेको फैलनु, बिस्तार हुनु । (५) प्रत्याहार प्राणलाई नियन्त्रण गर्नु प्राणायम हो भने इन्दृयलाई नियन्त्रण गर्नु प्रत्याहार हो । मानिसको इन्दृय हरबखत विषय वासनाप्रति आशक्त हुने हुदा यस्ता अनियन्त्रित इन्दृयको नियन्त्रण नै प्रत्याहार हो । (६) धारणा धारणा भनेको विचार हो वैचारिक चिन्तन हो । योग दर्शन अनुसार आफूले चाहेको वस्तु वा विषयमा पूर्ण रुपले केन्दृत हुनु नै धारणा हो । (७) ध्यान चन्चल मन र विचारलाइ एकीकृत गरी एउटै विषयमा मात्र पूर्ण रुपमा एकाग्र बनाउनु नै ध्यान हो । ध्यान भनेको मानसिक इत्तिवृत्तलाई एकाग्रताको अवस्थामा पुग्नु हो । (८) समाधि उदेश्यमा वा ध्ययमा पुग्नु वा लिन हुनु समाधि हो । पूर्ण समाधिमा ध्यय बाहेक अरु शुन्य हुन्छ । समाधिको बहु अर्थ लाग्दछ तर योग दर्शनमा यसको अर्थ कुनै पनि अपेक्षित विषय वा क्षेत्रमा समर्पित हुनु नै समाधि हो ।

निष्कर्षत: के भन्न सकिन्छ भने योगाभ्यासद्वारा मन,शरीर र इन्दृयलाई नियन्त्रण गरी मोक्ष (परमानन्द) प्राप्त गर्न सकिन्छ भन्ने चिन्तनमा आधारित क्रियाकलाप नै योग हो । योगको शाब्दिक अर्थ जोड हो यसबाट पनि के बुझिन्छ भने योग भनेको स्थुल शरीर र सूक्ष्म मनलाई एकीकृत गरी मानवलाई उर्जावान बनाइ सफलता, सन्तुष्ट वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने चिन्तन नै योग हो ।

प्राचीन समयदेखि नै प्रचलित योग परम्परालाइ ईशापूर्व दोस्रो शताब्दीतिरका मानिने पतन्जलिले योगलाई व्यवस्थित गरी सूत्रवद्द गरेका हुन् ।

Facebook Comments