Mon. Apr 29th, 2024

कोशी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

विराटनगर, २०७७ जेठ ७ गते बुधबार

विराटनगरस्थित कोशी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त हुनुभएको हो ।

गोरखापत्र अनलाईनका अनुसार डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान हुनुहुन्छ । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ (५२), गुड्डु आलम (१८) र मुस्ताकी (६६) रहेकाे अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उदयपुरका तीनजना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरूको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ ।

कोभिड-१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसक्नु भएको छ । बुधबार आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज  हुनेकाे सङ्ख्या २५ पुगेको छ ।

Facebook Comments