Thu. May 16th, 2024

प्रधानमन्त्री प्रचण्ड आज छन्तु जानुहुँदै   

मानसरोवर, तिब्बत, चीन, २०८० असोज १२ गते शुक्रबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको सछुवान प्रान्तको सदरमुकाम छन्तु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छन्तु जान लाग्नुभएको हो ।

उहाँ स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्तुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छन्तु पुग्नुहुने छ । छन्तुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।

बुधबार चीनको छोङछिङ शहरबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छन्तुबाटै काठमाण्डू फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहनुभएको छ ।

Facebook Comments