२०८३ मंसिर १०, बिहीवार

सन् २०३० सम्म ६जी र भू-उपग्रह इन्टरनेट विस्तार गर्ने चीनको लक्ष्य

       

पैचिङ । चीनले सन् २०३० सम्म अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार सञ्जाल विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन् ।

योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ । साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट (एलईओ) भू-उपग्रहमा आधारित इन्टरनेट प्रणालीको निर्माण मूलतः सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चीनले औद्योगिक इन्टरनेट र इन्टरनेट अफ भेहिकल्स (सवारीसाधनमा आधारित इन्टरनेट) जस्ता एकीकृत सञ्चार सञ्जालको पनि व्यापक विस्तार गर्ने योजना बनाएको छ । नयाँ योजनाले सञ्चार प्रविधिको स्मार्ट विकासलाई तीव्रता दिनुका साथै नेटवर्कको कार्यक्षमता र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित औद्योगिक पारिस्थितिक प्रणालीलाई थप बलियो बनाउने लक्ष्य पनि योजनामा समेटिएको छ । ६जी प्रविधि, भू-उपग्रह इन्टरनेट र औद्योगिक सञ्चार सञ्जालको विकासमार्फत चीनले आगामी पुस्ताको डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको छ । सिन्ह्वा

Facebook Comments