Mon. May 6th, 2024

चीनमा आज मध्य शरद पर्व धुमधामसँग मनाइँदै, नयाँ चीन स्थापनाको अवसरमा ८ दिने सार्वजनिक विदा

भिओके समाचार, काठमाण्डू, २०८० असोज १२ गते शुक्रबार । नेपालको उत्तरी छिमेकी देश चीनका जनता आज विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मध्य शरद पर्व मनाउँदैछन् । यो पर्व र नयाँ चीन स्थापनाको अवसरमा चीनमा ८ दिन लामो सार्वजनिक विदा दिईएको छ ।

आज शुक्रबार चिनियाँहरुको राष्ट्रिय पर्व ‘मीट अटम फेस्टिबल’ अर्थात मध्य शरद पर्व हो । आजको दिन चिनियाँहरुले चन्द्रमा अंकित ‘मुन केक’ आफ्ना परिवारजन, इष्टमित्र र पाहुनाहरुलाई दिने र लिने चलन छ । चीनमा प्रत्येक शनिबार र आइतबार नियमित रुपमा सार्वजनिक विदा हुने गरेको छ । आउँदो सोमबारदेखि बुधबारसम्म तीन दिन लगातार चिनियाँ राष्ट्रिय दिवसको छुट्टी छ । बिहीबार र शुक्रबार सापटी बिदा मिलान हुने गरी चीन सरकारले नागरिकहरुलाई यस पटक आठ दिनको छुट्टी दिएको हो ।

सन् १९४९ अक्टोबर १ तारिखका दिन जनवादी गणतन्त्र स्थापना भएको दिन हो । सो दिनलाई अक्टोबर क्रान्तिका नामले पनि चिनिन्छ । सोही दिनदेखि चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सञ्चालन गर्न थालेपछि नयाँ चीन स्थापना भएको मानिन्छ । राष्ट्रिय दिवसको अवसरमा देशभर राष्ट्रिय झण्डाले विभिन्न चौक, सडक, शैक्षिक संस्था र सरकारी कार्यालयहरु सजिसजाउ पारिएको छ । अक्टोबर १ तारिखका दिन विहान सबैरै चीनको राजधानी पैचिङस्थित थिआन आन मन चौकमा एक भव्य समारोहको आयोजना गरी झण्डोत्तोलन गर्ने गरिन्छ । सो समारोहमा देशका उच्चपदस्थ अधिकारी र सर्वसाधारणको बाक्लो उपस्थिती हुने गरेको छ । झण्डोत्तोलन पछि चिनियाँ जनमुक्ति सेनाले विशेष परेडको पनि आयोजना गर्दछ भने साँझ दिपावली र आताशवाजी गर्ने परम्परा रहँदै आएको छ । पैचिङ लगायत चीनका सबै प्रदेश र सदरमुकामहरुमा झण्डोत्तोलन लगायतका कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ ।

यस पटक बिहीबार र शुक्रबारको छुट्टीको सापटी काम आगामी शनिबार र आइतबार अर्थात् ७ र ८ अक्टोबरमा सरकारी कार्यालय र विश्वविद्यालय सञ्चालन हुने सूचना जारी गरिएको छ । यति लामो बिदामा चिनियाँहरु घुमफिरमा जाने गर्दछन् । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा तीन दिन, पुर्खा दिवसमा एक दिन, श्रमिक दिवसमा एक दिन, ड्रागन ढुङ्गा दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा एक दिन गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ । चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटनमा प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सापटी बिदाको चलन सुरु गरेको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि, अन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो बिदाको नियम ल्याएको हो । प्रायजसो यस्ता सार्वजनिक विदाहरुमा चिनियाँहरु देशका विभिन्न क्षेत्रहरुमा घुमिफिर गर्न जाने हुनाले पनि आन्तरिक पर्यटनको विकासमा त्यसले महत्वपूर्ण योगदान पुर्याउने गरेको छ ।

Facebook Comments