२०८३ मंसिर १०, बिहीवार

पोखराको आकाशमा दैनिक दुई सयभन्दा बढी पर्यटकको प्याराग्लाइडिङ

       

राम थापा/गण्डकी । पर्यटकीय सहर पोखराको मौसम यतिबेला सफा छ । हिमाल, तालतलैया र हरिया डाँडापाखाको दृश्यावलोकन गर्दै आकाशमा उड्ने रोमाञ्चक अनुभव लिन पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भइरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले पोखरामा दैनिक दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको अनुभव लिइरहेका छन् । दसैँ-तिहारको बिदाका समयमा यो सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो ।

प्याराग्लाइडिङ गर्नेमा विदेशी पर्यटक झण्डै ६० प्रतिशत र नेपाली ४० प्रतिशत रहेको संस्थाका अध्यक्ष माधव तिवारीले बताउनुभयो । “वर्षा भइरहेको र मौसम बिग्रेको दिनबाहेक वर्षमा करिब तीन सय दिन पोखरामा प्याराग्लाइडिङ उडान हुने गर्छ”, उहाँले भन्नुभयो, “प्याराग्लाइडिङ उडानमा पछिल्लो समय नेपालीहरूको पनि आकर्षण बढ्दो छ ।”

साहसिक पर्यटनसँग जोडिएको प्याराग्लाइडिङ पोखराको पहिचानका रूपमा स्थापित भएको अध्यक्ष तिवारीले बताउनुभयो । पोखरा घुम्न आउने पर्यटकमध्ये झण्डै २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको उहाँको भनाइ छ ।

नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् । ती कम्पनीमा २३० जना तालिमप्राप्त पाइलट कार्यरत छन् । पाइलटदेखि प्याराग्लाइडिङमा उडान गर्ने यात्रुसम्मको बीमा गर्ने गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । दुर्घटना हुन नदिन सुरक्षाका सबै उपाय अवलम्बन गर्ने गरिएको उहाँको भनाइ छ ।

प्याराग्लाइडिङ व्यवसायको अनुगमन तथा सञ्चालन अनुमतिपत्र नवीकरणलगायतका काम पनि नेपाल हवाई खेलकुद संस्थामार्फत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान गरी फेवाताल किनारको खपौदीमा अवतरण हुने गरेको छ । समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइबाट उडान हुने गरेको फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताउनुभयो । सुरक्षाका सबै मापदण्ड पालना गरेर मात्र उडान गर्ने गरिएको उहाँको भनाइ छ ।

साहसिक पर्यटन गतिविधि रुचाउने विदेशी पर्यटकलाई आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्र विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो । “एयर स्पेस कम हुँदा सोलो उडानका लागि आउने विदेशी पर्यटकलाई सोचेजति पोखरामा ल्याउन सकिएको छैन”, प्रशिक्षक थापाले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडानका लागि एयर स्पेस बढाउने हो भने धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई उडानको सुरक्षालाई ध्यानमा राख्दै प्याराग्लाइडिङ केही समय बन्दसमेत गरिएको थियो । पछि निश्चित स्थान तोकेर प्राधिकरणले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिएको थियो ।

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता पनि विगतको तुलनामा कम हुँदा विभिन्न देशबाट प्रतियोगिताकै लागि आउने पर्यटक घटेको प्रशिक्षक थापाले बताउनुभयो । प्याराग्लाइडिङका लागि पोखरा उपयुक्त र आकर्षक गन्तव्य भएकाले राज्यले व्यवसायीलाई प्रोत्साहित गर्ने योजना ल्याउनुपर्ने उहाँको भनाइ छ ।

पोखरामा अहिले आठ हजार ५०० रुपैयाँ तिरेर प्याराग्लाइडिङ गर्न पाइन्छ । उक्त दरमा केही घटबढ हुनसक्ने व्यवसायी बताउँछन् । प्याराग्लाइडिङ गर्ने पर्यटकले १५ देखि ३० मिनेटसम्म आकाशमा उड्न पाउँछन् । पोखरामा तीन दशकअघिदेखि प्याराग्लाइडिङ सुरु गरिएको थियो ।

प्याराग्लाइडिङका लागि पाइलट तयार गर्न तालिमसमेत पोखरामै सञ्चालन गर्ने गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५, रिभानमा केही दिनअघि प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । स्वदेशमै दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा उक्त केन्द्र सञ्चालनमा ल्याएको हो ।

पोखरामा प्याराग्लाइडिङसँगै बन्जी, स्काइडाइभिङ, अल्ट्रालाइट र हट एयर बेलुनजस्ता साहसिक पर्यटन गतिविधि पनि सञ्चालन हुँदै आएका छन् । रोमाञ्चक तथा साहसिक अनुभवका लागि देशविदेशका पर्यटक यी गतिविधिमा आकर्षित हुने गरेका छन् ।

‘प्रकृति, संस्कृति र साहस’मा आधारित पोखराको पर्यटनमा साहसिक खेल गतिविधिको महत्वपूर्ण स्थान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो । साहसिक पर्यटन गतिविधिमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षित गर्न सके पोखराको पर्यटन क्षेत्रले ठूलो लाभ लिनसक्ने उहाँको भनाइ छ । रासस

Facebook Comments