Sat. Sep 21st, 2024

कराँची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको बसमा आतङ्कवादी हमला, तीनजना चिनियाँ शिक्षकको मृत्यु

काठमाण्डौ, २०७९ बैशाख १४ गते बुधबार । पाकिस्तानको कराँची विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटको बसमा आतङ्कवादी आक्रमण गरिएको छ। मंगलबार गरिएको सो आक्रमणमा परी तीनजना चिनियाँ शिक्षकको मृत्यु हुनुका साथै एकजना चिनियाँ शिक्षक घाइते भएका छन्। त्यसबाहेक, धेरै पाकिस्तानीहरू हताहत भएका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज पत्रकार सम्मेलनमा यस घटनाबारे जानकारी दिनुभएको छ। प्रवक्ताका अनुसार, चीनले यो आतङ्कवादी घटनाको कडा निन्दा र अत्याधिक आक्रोश व्यक्त गरेको छ। साथै मृतकलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते र मृतकका परिवारलाई समवेदना व्यक्त गरेको छ।

यसैबीच चिनियाँ परराष्ट्र मन्त्रालय र पाकिस्तानका लागि चिनियाँ दूतावासले आपतकालीन व्यवस्था सुरू गरेको छ। चीनले चीनका लागि पाकिस्तानी राजदूतलाई फोन गरेर पाकिस्तानसँग उक्त घटनाको तुरून्तै जाँच गरेर हत्यारा खोज्न र कडा सजाय दिन अनुरोध गरेको छ। साथै सक्दो कदम चालेर पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षा गरेर यस्ता घटना फेरि दोहोरिन नदिन अनुरोध पनि गरेको छ। पाकिस्तानका लागि चिनियाँ दूतावास, कराँचीका लागि चिनियाँ वाणिज्य दूतावासले पाकिस्तानसँग मिलेर सो घटनाको जाँच गरिरहेका छन्।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले २६ तारिख राती चिनियाँ दूतावास गएर उक्त घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले पाकिस्तान सरकारले उक्त घटनाको गहन जाँच गर्ने, उक्त हमलावारलाई कडा सञ्जाय दिने, चिनियाँ नागरिक, परियोजना र संस्थाको सुरक्षा कार्यलाई चौतर्फी रूपमा सबल पार्ने बताउनुभएको छ। पाकिस्तान र चीनको मित्रतामाथि क्षति पुर्याउने कुनै पनि शक्ति स्वीकार्य नभएको पनि उहाँले बताउनु भएको छ। हाल, सिन्ध प्रान्त र कराँची सरकारले जाँच(अनुसन्धान र गिरफ्तार कार्य सुरू गरिसकेका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालय र पाकिस्तानका लागि चिनियाँ दूतावासले पाकिस्तानका सम्बन्धित विभागहरूसँग घटनापछिको कार्य तथा घाइतेको उद्धार कार्य राम्ररी गर्न र आतङ्कवादी संगठनमाथि दृढताका साथ प्रहार गर्न निरन्तर ताकिता गरिरहेको छ। सीआरआई

Facebook Comments