Sat. Sep 21st, 2024

सरकारी खर्च घटाउन सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

फाईल फोटो

काठमाण्डौ, २०७९ बैशाख १४ गते बुधबार । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले परीक्षणका रुपमा सातामा दुई दिने साप्ताहिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको हो।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन साप्ताहिक दिने निर्णय भएको जानकारी दिनुभएको हो।

प्रवक्ता कार्कीका अनुसार यो निर्णय आगामी जेठ १ गतेदेखि लागू हुनेछ। निर्णय लागूभएपछि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछन्।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९:३० बजेदेखि साँझ ५:३० सम्म कार्यालय समय कामय गर्ने, शनिबार र आइतबार सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो।

सरकारले सरकारी खर्च घटाउन सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। मुद्रा सञ्चिति घट्दै गएपछि केही महिनायता सातामा दुई दिन साप्ताहिक बिदा दिने विषयमा बहसमा भएको थियो। सरकारले अहिले परीक्षणको रुपमा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको हो। यसअघि नै सरकारले विभिन्न १० प्रकारका विलासीका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। गोरखापत्र अनलाईन

Facebook Comments