Sun. May 5th, 2024

हेइटीका हत्या गरिएका राष्ट्रपतिकी श्रीमती भन्नुहुन्छ ‘भाडाका सैनिक प्रयोग गरेर मेरा श्रीमान्‌को ज्यान लिइयो’

काठमाडौं, २०७८ असार २७ गते आईतबार । निजी निवासमा हत्या गरिएका हेइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमतीले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उहाँको ज्यान लिएको बताउनु भएको छ ।

उहाँले आफ्ना श्रीमान्‌ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताउनु भयो ।

सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उहाँले हेइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाउनु भएको छ ।

बुधवार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा मार्टीन मोइज पनि घाइते हुनुभएको थियो । उहाँलाई उद्धार गरेर उपचारका लागि अमेरिकाको मायामी लगिएको छ।

राष्ट्रपति मोइजको हत्याले हेइटीमा सत्ताको नेतृत्वलाई लिएर विवाद निम्त्याएको छ। राष्ट्रपतीय निर्वाचन र देशको नयाँ संविधान लेख्ने विषयलाई लिएर सेप्टेम्बर महिनामा जनमतसङ्ग्रह आह्वान गरिएको छ।

प्रथम महिला मोजेले आक्रमण एकदमै द्रुत हिसाबले गरिएका हुनाले आफ्ना श्रीमान् जोभनेलले “एक शब्द पनि उच्चारण गर्न नसकेको” बताउनु भयो ।

जुलाई ७ मा २८ जना विदेशी भाडाका हमलाकारीहरूले गरेको भनिएको सो आक्रमणमा राष्ट्रपति मोइज मारिनु भएको थियो ।

ट्विटरमा श्रीमती मोइजले राखेको अडिओ सन्देशमा भनिएको छ, “आँखा झिमिक्क गर्न नपाउँदै भाडाका विदेशी हमलाकारी मेरो घरमा प्रवेश गरे र मेरा श्रीमान्‌लाई गोलीले क्षतविक्षत बनाए।”

“यो घटनाको कुनै नाम छैन किनभने जोभनेल मोइज जस्ता राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिइकन त्यसरी हत्या गर्ने सीमाविहीन खालको अपराधी हुनुपर्छ।”

उहाँले राष्ट्रपतिको सपना चकनाचुर पार्न हत्या गरिएको भन्दै आफ्नो श्रीमान्‌को रगतलाई खेर जान नदिने बताउनु भयो । ५३ वर्षका मोइज सन् २०१७ देखि अमेरिकाको सबैभन्दा गरिबमध्येको देश हेइटीका राष्ट्रपति हुनुहुन्थ्यो ।

भ्रष्टाचारको आरोपको सामना गर्नु परेको र राजधानीसहित देशका विभिन्न सहरहरूमा यसै वर्षको सुरुमा प्रदर्शनहरू भइरहेकाले उहाँको कार्यकाल विवादमुक्त भने थिएन।

सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भएपनि विवादहरूका कारण त्यसमा विलम्ब भइरहेको थियो र उहाँले उर्दीका भरमा शासन चलाइरहनु् भएको थियो ।

प्रस्तावित संवैधानिक परिवर्तनका लागि उहाँले सेप्टेम्बरमा जनमतसङ्ग्रह गराउने योजना गर्नुभएको थियो । फेब्रुअरीमा विपक्षी दलहरूले उहाँले राजीनामा दिनुपर्ने बताएकै दिन मोइजले आफ्नो हत्या गर्ने र सरकार ढाल्ने योजना विफल बनाइदिएको बताउनु भएको थियो ।

बुधवारको हत्याको जिम्मेवार र कारण अझै प्रस्ट भइसकेको छैन। आरोपित हमलाकारीहरू उहाँको निवासमा कसरी प्रवेश गरे सहितका कैयौँ प्रश्न उठेका छन्।

मोइजका सुरक्षागार्डहरूलाई आगामी हप्ता यसबारेमा प्रश्न गरिँदैछ। हेइटीको प्रहरीले अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुई जना संयुक्त अमेरिकी नागरिकता भएका व्यक्ति रहेको जनाएको छ।

आक्रमणकारीका रूपमा आरोपितमध्ये १७ जनालाई राजधानी पोर्ट-अ-प्रिन्सबाट पक्राउ गरिएको छ। तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको बताइएको छ र आठ जना अझै फरार छन्।

कोलम्बियाको सरकारले हेइटीलाई उसको अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएको छ। कोलम्बियाको प्रहरीका निर्देशकले १७ जना पूर्व कोलम्बीयाली सैनिक संलग्न भएको आशङ्का गरिएको जनाएका छन्।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना कुनै पनि नागरिक थुनामा रहेको भन्ने प्रमाणित गर्न नसक्ने जनाएको छ।

तर अमेरिकी र क्यानडाली सञ्चारमाध्यमहरूले दोहोरो नागरिकता भएका एक जना व्यक्ति पक्राउ परेको र उनी फ्लोरिडाका भएको उल्लेख गरेका छन्।

ती व्यक्ति हेइटीस्थित क्यानडाको दूतावासको पूर्व सुरक्षाकर्मी भएको बताइएको छ। बिबिसी

Facebook Comments