Thu. Apr 25th, 2024

यस वर्ष ४५ देशका ४ सय ५७ जनाले सगरमाथा चढे

काठमाडौं, २०७८ असार २७ गते आईतबार । कोभिड-१९ को दोस्रो लहरले नेपालसहित एसियाली मुलुकहरु ‘लकडाउन’मा रहेकै बेला विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपालसहित ४५ मुलुकका ४ सय ५७ आरोहीले सफलता प्राप्त गरेका छन् ।

पर्यटन विभागले फागुन अन्तिम साताबाट सुुरु भएको ८३ दिन लामो वसन्तकालीन हिमाल आरोहणको यो तथ्यांक आइतबार सार्वजनिक गरेको हो । विभागका निर्देशक मिरा आचार्यले दिनु भएको जानकारी अनुसार यसपटक सगरमाथा चुचुरोमा ७ जना नेपालीसहित ४ सय ५७ जना पुगेका थिए । जसमा ४३ जना महिला र ४ सय १४ जना पुरुष थिए ।

यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारीतर्फका युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा-छोरा)ले सगरमाथा आरोहण गर्नुभएको थियो । विभागका अनुसार यसपटक ७५ हजार रुपैयाँ सलामी दस्तुर तिरेर सगरमाथा आरोहणका लागि जाने १९ जना नेपाली थिए । बाँकी १२ जना नेपालीले सगरमाथा आरोहणमा असफल भए ।

यसपटक ल्होत्से, नुप्चे, पुमरी र सगरमाथा हिमाल अरोहणका लागि सगरमाथा आधार शिविरमा पथ प्रदर्शकसहित करिब १५ सयजना पुगेका थिए । जसमा ४ सय ३ जना विदेशी थिए । सगरमाथा आधारशिविर चार वटा हिमाल आरोहणका लागि प्रयोग गरिन्छ ।

यस सिजनमा कोरोना संक्रमणका कारण हिमाल आरोहण स्थगन हुनसक्ने त्रास थियो । तर कोराना संक्रमणकै कारण कुनै पनि आरोहण दलका सदस्यहरुले ज्यान गुमाउनु नपरेको निर्देशक आचार्यले बताउनु भयो । तर आरोहणका क्रममा दुई जना नेपाली पथ प्रदर्शक (संखुवासभाका आङदोर्जी शेर्पा र पेम्बाटासी शेर्पा) तथा दुई विदेशी (अमेरिकी र स्विस) गरी चार जनाको सगरमाथामा मृत्यु भएको उहाँले बताउनु भयो । जसमा स्विस नागरिक अब्दुल वाराइच र गाइड आङ दोर्जीको सगरमाथा आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको थियो ।

यसपटक विभागले १६ वटा हिमालका लागि नेपालसहित ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति दिइएको थियो । तर १० वटा हिमालमा सफल आरोहण हुन सकेन । विभागले जारी गरेको अन्तिम नतिजा अनुसार वरुणचेमा २ जना, अमादब्लममा २४, अन्नपूर्ण प्रथममा ६८, लोत्सेमा ७२, पुमरीमा १० र सगरमाथामा मात्रै ४ सय ५७ ले आरोहण गरे । नेपालले आरोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । हालसम्म खुला गरिएकामध्ये ३ सय ३९ चुचुरामा मात्रै सफल अरोहण भइसकेको छ भने ७५ वटा हिमचुचुरामा आरोहण भइसकेको छैन ।

यसपटक हिमाल आरोहणमा करिब पौने ४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको कारोबार भएको विभागको अनुमान रहेको छ । विभागले हिमाल आरोहणमा जानेहरुबाट यस सिजनमा सलामी दस्तुरमात्रै करिब ५४ करोड ९२ लाख संकलन गरेको थियो । कान्तिपुर अनलाईन

Facebook Comments