वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालको निधन
रमेश हतुवाली/विराटनगर, २०८२ वैशाख २३ गते मंगलबार । वरिष्ठ वामपन्थी नेता तथा प्रगतिशिल साहित्यकार प्रदीप नेपालको निधन भएको छ ।
पूर्वसञ्चारमन्त्री नेपालको काठमाण्डू थापाथलीस्थित नर्भिक अस्पतालमा दिउसो ४ बजे निधन भएको हो । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुभएका नेता नेपालको निधन भएको उहाँका भतिजा अनिल नेपालले जानकारी दिनुभएको हो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्ति आईतबार गोठाटार काँडाघारीस्थित निवासबाट उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
१४ वर्ष भूमिगत जीवन विताउनु भएका नेपालले, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन कुमार भण्डारीसँग लामो समय पार्टीमा काम गर्नुभएको थियो । २०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मनु भएका नेता नेपाल नख्खु जेल ब्रेक गरी भूमिगत हुनुभएको थियो । पञ्चायती शासनकालमा संजय थापाका नाममा विभिन्न पुस्तकहरु प्रकाशित गरी नेपाली युवाहरुमा क्रान्तिको वीउ रोप्नु भएका नेता नेपाल पार्टी भित्र वलियो रुपमा स्थापित हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टी र पार्टीका नेता तथा कार्यकर्ताको पहिलो दायित्व देश र जनताको मुक्ति बताउनुहुने नेता नेपाल पार्टीका प्रत्येक जनमुखी निर्णयहरुलाई समर्थन गर्न सतिसाल जस्तै उभिनुहुन्थ्यो ।
कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक नेकपा एमाले स्थायी समितिका सदस्य रहनुभएका नेता प्रदीप नेपाल पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय हुनुहुन्थ्यो । २०५१ सालमा गठन भएको नेपालको पहिलो कम्युनिष्ट सरकारमा उहाँले सूचना तथा सञ्चार मन्त्रालयको जीम्मेवारी सम्हाल्नु भएको थियो । त्यसपछि उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जीम्मेवारी पनि सम्हाल्नु भएको थियो ।
२०५९ सालमा टाउकाको शल्यक्रिया गरेपछि उहाँको राजनीतिक यात्रा क्रमशः पातलिँदै गएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण हुँदा उहाँ मुलुकमा नयाँ युगको सुत्रपात हुने बताउनुहुन्थ्यो । तर पार्टी विभाजन भएपछि उहाँमा ठूलो निराशा देखिएको थियो । पार्टी विभाजनपछि नेता केपी शर्मा ओली र माधव कुमार नेपालले आफ्नो पार्टीमा आउन आग्रह गरे पनि उहाँले खासै वास्ता गर्नुभएको थिएन । पार्टीभित्र बढिरहेको गुटबन्दीले उहाँलाई ठूलो पीडा दिएको थियो ।
नेता नेपालका पार्टीकी आमा, पूर्वतिर, मुक्ति, स्वप्निल शहर, एक हजार वर्ष लगायतका १६ वटा उपन्यास, धरहराको शहर, बेचिएका चेलीहरुलगायत १० वटा कथासङ्ग्रह, पाइला छोडेर अस्ताएको घाम, इलामको तारा, बन्दीगृहको सिर्जना लगायत १३ वटा नियात्रा/संस्मरण तथा विविध विषयसँग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनिय योगदान गरेवापत नेता नेपाललाई उतमशान्ति पुरस्कार, नइ ईश्वर वल्लम पुरस्कार तथा साहित्य सन्ध्या, दोभान साहित्य, प्रलेस, गोपालप्रसाद रिमाल सम्मान जस्ता पुरस्कार र सम्मानबाट सम्मानित गरिएको छ ।
मृत्युपर्यन्त जनताको मुक्तिका पक्षमा कलम चलाउँदै वैचारिक वहसलाई निरन्तर अगाडि बढाउने वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

