Sat. May 24th, 2025

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता रोममा हुने   

तेहरान, २०८२ वैशाख ४ गते बिहीबार । इरानका उपविदेशमन्त्री काजेम गारिबाबादीले तेहरान र वासिङ्टनबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता इटालीको राजधानी रोममा हुने बताउनुभएको छ ।

“हामी बोलिरहेका छौँ, हामीले वार्ताको स्थान परिवर्तनका लागि अर्को पक्षबाट कुनै नयाँ अनुरोध पाएका छैनौँ र दोस्रो चरणको वार्ता कार्यक्रम रोममा हुनेछ,” गारिबावादीले बुधबार प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले भन्नुभयो, “वार्ताको स्थान इरानी पक्षका लागि संवेदनशील विषय थिएन । हामीले मुख्य विषयवस्तु र काममा ध्यान दिनुपर्छ ।”

वार्तास्थल जहाँ भएपनि ओमानले उनीहरूलाई सहजीकरण र मध्यस्थता जारी राख्ने उहाँले बताउनुभयो ।

यसअघि, तेहरानको आणविक कार्यक्रमबारे इरानका विदेशमन्त्री सेइद अब्बास अराघचीले शनिबार ओमानको राजधानी मस्कटमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्नुभएको थियो । दुबै पक्षले उक्त वार्ता रचनात्मक रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चको सुरुमा संयुक्त अरब इमिरेट्स (युएई) मार्फत् इरानी नेताहरूलाई इरानको आणविक कार्यक्रमबारे वार्ताको प्रस्ताव सहितको पत्र पठाएको बताउनुसभएको थियो । प्रस्तावलाई स्वीकार गर्दै इरानले ‘अप्रत्यक्ष’ वार्ताका लागि सहमति जनाएको थियो ।

इरानले सन् २०१५ को जुलाईमा बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस र संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौता गरेको थियो । यस सम्झौताअन्तर्गत तेहरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक गतिविधि सीमित गर्न सहमत भएको थियो।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्तर्गत सन् २०१८ को मेमा एकतर्फी रूपमा आफ्नो देशलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्नुभएको थियो र इरानमाथि पुनः प्रतिबन्धहरू लगाइएको थियो । यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको बताउँर्दै क्रमिकपमा वार्ताबाट फिर्ता भएको थियो । त्यसयता आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा खासै प्रगति भएको छैन । एएफपी

Facebook Comments