Tue. Jun 25th, 2024

भवानी न्यौपाने ‘भावना’का सृजनाहरुलाई खोतल्दा

- स्रष्टा र सृजना

काठमाडौं, २०७७ असोज २४ गते शनिबार

कला, साहित्य र संगीतलाई जीवनको ढुकढुकी बनाउँदै लेखन, यात्रा अनि अध्ययनमा समर्पित एक संघर्षसिल स्रष्टाको नाम हो भवानी न्यौपाने ‘भावना’ । विकासले सौतेलो डाढा गरेको तर प्रकृत्तिले सोह्र सिंगार गरेको सल्यान जिल्लाको हिवल्चा गाँउमा वि.सं. २०३८ साल भदौ ५ गते बाबु पवित्रराज न्यौपाने र आमा विमला न्यौपानेको कोखबाट माईलो सन्तानको रुपमा जन्म लिनु भएका न्यौपानेका एक दाजु र दुई बहिनीहरु हुनुहुन्छ ।

तुलसीपुर, दाङलाई कर्मथलो बनाएर साहित्य सृजनामा लाग्नु भएका भावना न्यौपाने विद्यार्थीकालदेखि नै साहित्यले आकर्षण गरेको बताउनु हुन्छ । सरल, यर्थाथपरक, प्रकृति र देशभक्ति, मानवता र प्रेम जस्ता रसहरु भावनाका सृजनाहरुमा छताछुल्ल भएको पाईन्छ । छोटो समयमै स्वदेश तथा विदेशका पाठकहरुको माया पाउन सफल भावनाका प्रकाशित कृतिहरुमा ‘भावनाका बिम्बहरू-कवितासङ्ग्रह २०७२’,  ‘भावनाका उद्भास-छन्दोबद्ध कविता संग्रह २०७३’, र ‘भावनाका वहर वाटिका-वहरबद्ध गजल सङ्ग्रह २०७४’, रहेका छन् । त्यसैगरी वहाँका प्रकाशोन्मुख कृतिहरुमा छन्द कविता सङ्ग्रह, कथा संग्रह र मुक्तक सङ्ग्रह रहेका छन् ।

भावना न्यौपानेका प्रत्येक सृजना अनि लेखनमा मातृभूमिप्रतिको अगाध सम्मान, माया र स्नेह भेटिन्छ । उहाँका सृजनाका थोपा थोपामा स्वदेशकै गरिमा झल्किन्छ अनि उहाँले यस माटोलाई कत्तिसम्म प्रेम गर्नुभएको रहेछ त्यो छर्लङ्ग हुन्छ । मातृभूमिको काखमा रमाउँदै यहीका भिरपखा पखेरा अनि हरियालीहरुको स्पर्शमा रमाउनु भावनाका विशेषताहरु हुन् ।

अहोरात्र सृजनामा हराउने, कर्मलाई सबै भन्दा ठूलो धर्म सम्झने भावनाका रचनाहरु अध्ययन गर्दा जो कोहीले पनि एउटा सरल जीवन भित्रको उच्च विचार भएको कर्तव्यपरायण व्यक्तिको रुपमा वहाँलाई चिन्दछन् । आफु भलो त जगतै भलो भन्ने हाम्रो परम्परादेखिको उक्ति भावनाका सृजनाहरु अध्ययन गर्दा प्रस्टै देख्न पाईन्छ । आहा कत्ति सुन्दर छन् भावनाका उच्च अझै उच्च तर सरल रचना र ती रचनाबाट निस्कने काव्यरस ।भावनाका सृजना जहाँ सबैको खुशी र शान्तिको मात्र कामना छ । स्वार्थका सिखरहरु चढेर महल बनाउने लाल्सा अलिकति पनि छैन भावनामा । मात्र मृत्युपछि स्वदेशी धुँवामा हराउने वहाँको ईच्छा छ । जुन ईच्छा वरिष्ठ नाटककार वालकृष्ण समको ईच्छासँग मिल्न खोज्छ ।

 

भवानी न्यौपाने भावनाका वेलावेलामा प्रस्फुटित हुने केही सृजनाहरु आध्यात्मिक जीवन वा जगतसँग नजिक रहेको पाईन्छ । फूल, अक्षता, धुपध्वार र नानाभाँतीका प्रसादीहरुको जोहो गर्दै दिन विताउने धार्मिक प्रवृत्तिका मानिसहरुको जस्तो आध्यात्मिकता कदापी छैन भावनामा । भवाना सरस्वतीले दिनु भएको कलम चलाएरै ईश्वको पूजा गर्नुहुन्छ । जुन पूजा जो कोहीका लागि अनुकरणीय नहोला भन्न सकिन्न ।

भवानी न्यौपाने भावना कवि त हुँदै हुनुहुन्छ तर जीवन धान्नको लागि वहाँले शिक्षण पेशा रोज्नु भएको छ । शिक्षण पेशा भावनाको जीवनको अर्को तर महत्वपूर्ण पाटो हो । शिक्षाको उज्यालो प्रकाशबाट मात्र अज्ञानताको अन्धकार हट्ने वास्तविकतालाई राम्ररी बुझ्नु भएका न्यौपाने असल शिक्षक पनि हुनुहुन्छ । वि.संं.२०६३ माघ १७ गतेदेखि शिक्षण पेशामा लाग्नु भएकी भावना हाल मा.वि.तुलसीपुर सेन्टर, तुलसीपुर, दाङमा कार्यरत हुनुहुन्छ ।

 

भवानी न्यौपाने भावना स्वदेशी धुलोमै जीवनको उत्कृष्ट खुशी साट्न प्रयत्नशिल रहेको तथ्य वहाँका सृजनाहरु अध्ययन गर्दा प्रस्ट हुन्छ । दिनानुदिन देशलाई माया गर्नेहरुको खडेरी पर्दै गएको वर्तमानमा भावना सृजनाको दूरविन लगाएर देशप्रेमीहरु खोज्दै गर्नुहुन्छ ।

कविता, गजल र हाईकु जस्ता विधामा चम्किलो कलम चलाउने भावना न्याय हराउँदै गएको यस मातृभूमिमा गणतन्त्र स्थापनापछि अझै नराम्ररी मौलाउँदै गएको भ्रष्टाचार, दण्डहिनता, नातावाद, कृपावाद अनि पार्टीवाद र पहुँचवालीहरुको हुकुमीबाट दिक्क हुनुहुन्छ । वहाँ आफ्ना सृजनारुपी हतियार मार्फत यसरी व्यंग्य गर्नुहुन्छः

यसै मातृभूमिमा हुर्किएर यहीको अमृततुल्य जल अनि पवनको वर्कतमा जुँगामुठे भएर सात समुद्रपारी गएका असंख्यहरुले स्वदेशलाई विर्सिएको धेरै भैसक्यो । परदेशका फराकिला सडकहरुले उनीहरुलाई यहाँका गोरेटो अनि घोडेटो माटोको अब हेक्का रहेन, त्यहाँका गगनचुम्बी महलहरुले यहाँका पराले झुपडी र स्याउले गोठहरुको सम्झना रहेन । नत तिनले हिमाल सम्झे नत हिमालको काखमा नाच्ने डाँफे मुनाल अनि पहाडी पाखाहरुमा जीवनभरकै थकाई विर्साउने लालिगुराँस नै सम्झे । सम्झे त केवल आलिसान महल, चिल्लाकार अनि हरियो डलर । लुके डलरमै बुकी, चमेली, ईन्द्रकमल अनि हंसराजहरु । आशा थियो यो भूमिलाई आफ्नै काखमा हुर्किएर पराई देशमा गएका सन्तानहरुले विदेशको सीप सिकेर स्वदेश सिंगार गर्नेछन् तर त्यो कल्पन शिवाय अरु केही भएन । त्यसले त होला कवि भावना न्यौपाने पसिनाको जल र मेहनतको मलले स्वदेश बनाउन आफ्ना रचना मार्फत यसरी आग्रह गर्नुहुन्छः

स्रष्टा भवानी न्यौपाने भावनाको जीवन ऐना जत्तिकै छरलङ्ग छ । उहाँले लुकाउनु पर्ने कुनै कुरो देख्नु भएको थाहा छैन । भावना आफ्नो बारेमा आफैं यसरी लेख्नु हुन्छः

म पेशाले स्थायी शिक्षक, आध्यात्मिक क्षेत्रमा पनि समर्पित छु। यो देशमा सृजनाले पाखा, पखेरा पोत्न मन पराउने मान्छे हुँ। म देशका हरेक प्राकृतिक दृश्यमा रमाउँदै विशेषगरी छन्दमा रचना रच्दै आएकीछु। मेरा साहित्यिक तीन कृति मध्य दुई कृति छन्दमै छन् ।अहिले चौथो र पाँचौ छन्द कृतिको पाण्डुलिपि तयारीमा छन् । लकडाउनले केही ढिलो भएको छ । आशा गर्छु मेरा नयाँ कृति चाँडै प्रिय पाठक सामु पुग्नेछन् ।

भवानी न्यौपानेको बारेमा माथि नै चर्चा गरियो कि वहाँ पेशाले शिक्षक हुनुहुन्छ । शिक्षण पेशासँगै साहित्य सेवामा पनि वहाँ निरन्तर रुपमा लागिरहनु देशवासीका लागि गौरवको कुरो हो । भावना लेख्नु हुन्छः

म हजारौं बालबालिकाको माली बनेर उनीहरूको असाध्यै प्रेम गर्ने मान्छे। जीवनमा जुन उद्देश्य लिएर अगाडि बढेकीछु केही हदसम्म सन्तोष पनि हुँदै आएकीछु। मैले जीवनमा चाहेका केही कुरा पूरा पनि हुँदै आएका छन् । देशका अग्रज विद्वान लेखक, साहित्यकारहरू प्राय नचिन्ने कमै हुनुहुन्छ मलाई र हालसम्म भेट नभएका एकदमै कम हुनुहुन्छ होला मेरो जिन्दगीमा । यो भौतिक शरीर साहित्यमा समर्पित गरिसकेकोले होला साहित्य मेरो प्राण हो साहित्य विना बाँच्न सक्दिन सारा जीवन साहित्यमै होमिसकेकीछु । आज यही कारण मैले धेरै शुभचिन्तकको माया पाएकीछु। जीवनमा जहाँ पुग्नु थियो पुग्ने मौका मिल्यो। जोजोसित परिचित हुनु थियो परिचित हुन सकेँ। यो सुन्दर एवम् कोमल जीवनको अध्याय कुन दिन सकिन्छ थाहा छैन,आखिर नश्वर न हो जिन्दगी ।

म आफूलाई अत्यन्त सरल,सहज बनाएर बाँच्न चाहन्छु। म हिन्दु पुत्री हुँ। नेपालका हरेक भूगोलको माटो स्पर्श गरेकीछु। देशका धेरै संघ संस्थामा आजीवन सदस्य छु। मलाई देशका हरेक मृतिकाको बराबर माया छ अनि हरेक भूगोलमा रहनुहुने सम्पूर्ण सृजनशिल मनहरूको पनि । मलाई माया गर्ने प्रशस्त शुभचिन्तक पाएकीछु।

वि.सं.२०५२ साल फागुन १ गतेदेखि नयाँ नेपालको निर्माण र गणतन्त्रको स्थापना लगायतका मुद्धाहरुमा केन्द्रित रहँदै सुरु भएको माओवादी विद्रोह र वि.सं.२०६२/६३ को जनआन्दोलनले राजतन्त्रलाई पाखा लगाउँदै गणतन्त्रको स्थापना त गर्यो तर त्यसपछि जातीय, क्षेत्रीय, वर्गियता जस्ता विषयहरुलाई राजनीतिक दलहरुले यसरी उछाले कि त्यसले हाम्रा कुनै पुर्खाले कहिल्यै पनि कल्पना समेत नगरेको मधेस आन्दोलनको सुत्रपात गर्यो । जुन आन्दोलनले सैयौंवर्षदेखि मिलेर बसेको नेपाली समुदायबीच मधेसे र पहाडेको कित्ताकाट गर्यो । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो देशमा तराई मधेस जाँदा पहाडी समुदाय र हिमाल पहाड जाँदा मधेसी समुदाय सशंकित हुनु पर्ने अवस्थाको सृजना मात्र गरेन यस आन्दोलनको भुंग्रोमा परेर दर्जनौं निर्दोस नेपाली भष्म भए भने पुर्खौपुर्खादेखि बसिआएको थातथलो छाडेर रुँदै रुँदै परवासी जीवन विताउन पनि धेरैलाई बाध्य पार्यो । सायद एउटा नेपालीले अर्को नेपालीलाई मधेसे र पहाडेको उपमा भिराउँदै सत्रुतापूर्ण व्यवहार गरेको विगत सम्झेर विछिप्त बन्नु भएका स्रष्टा न्यौपाने आफ्ना र्सजनामा यसरी हिमाली, पहाडी र मधेसीबीच भेद रहित सुन्दर नेपालको कल्पना गर्नुहुन्छः

भवानी न्यौपाने भावना प्रकृतिप्रेमी हुनुहुन्छ । एक नारी हुनुको नाताले पनि होला वहाँको मन कमलो छ नौनी जस्तै । भावानाका सृजनाहरुलाई बढाई चढाई गर्ने पर्दैन । अकबरी सुनलाई कसी लगाउनु पर्दैन भने झै भावनाका सृजनाहरु आफै उत्कष्ट अनि मर्मस्पर्शी छन् :

फलेको छ हाँगो झुकेकोछ आँफै

छ दानी जगत्मा लुकेको छ आँफै।।

कतै छैन मै हूँ नुहेको छ धेरै

दिई दान सारा सुकेकोछ आँफै।।

उसैमाथि शीला छ हान्ने जमातै

हरे ! दैव लीला फुकेकोछ आँफै।।

म को हूँ छु कस्तो म जानू कसोरी?

लिनू है परीक्षा रुकेको छ आँफै ।।

भावना भन्नुहुन्छः हरेक मानिसको हृदयमा सिङ्गो महाकाव्य हुन्छ । कसैले जीवनभर हृदयमै सिमित राखेर चितामा पुग्छन्। कसैले बोलेर ,सुनाएर मात्र चितामा पुग्छन् भने केहीले मात्र यो जगतमा सृजनाद्वारा अक्षरमा सजाएर जीवनरूपी अमर इतिहासका पाना भरेर बाह्यजगतमा छोडेर जान्छन् ।

घमण्डीहरूको म बाटो नजाऊँ

सुशालीन मान्छे म भेटी रमाऊँ

फलेको छ हाँगो जहिल्यै नुहेको

म राम्राहरूको सदा गीत गाऊँ ।

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?

स्रष्टा भावना न्यौपाने भन्नुहुन्छः देश छ र पो हामी छौँ देशै नरहे हामी कहाँ रहन्छौँ ररु प्राण प्रिय नेपाल सबैले सजाउनुपर्छ।

छ यो देश राम्रो सुनौलो सिरानी

सजाऔँ सबैले मिली बागवानी

स्वदेशी धरामा कमाऔँ र बाँचौ

गरी काम राम्रो रमाएर नाँचौ।

दुई चुल्ठी बाटेर विद्यालय गएको झल्को आज पनि भावनालाई आउने गर्छ त्यसैले वहाँ विगतलाई स्मरण गर्दै लेख्नुुहुन्छः

मेरो जिन्दगीको प्रारम्भिक चरण देखि मा वि सम्म अध्यन गरेको प्यारो विद्यालय श्री सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाऊँ दाङ । अहिले पनि जस्ताको त्यस्तै सुन्दर चिटिक्क छ । आज एक्कासि उही बाल्यकाल मानसपटलमा दोहोरिएकोछ। उनै कलिला दिन मुटुमा खेलिरहेका छन् । त्यतिखेर रिवनका फुर्की सजाएर दुई चुल्ठी कपाल बाटेकी म बालिकालाई मेरा गुरुहरू प्राय बुवाका साथीहरू भएकाले छोरी भनेर निक्कै माया गर्नुहुन्थ्यो ,मेरा साथीहरुसित कक्षामा उपस्थित भएर भित्र बाहिर ओहोरदोहोर गर्दा टेकेको त्यो आँगन ,ती कक्षा कोठा ,त्यो चौर ,मलाई शिक्षा दिने मेरा आदरणीय गुरुहरू सबै कुरा आज बिहानै देखि स्मृतिमा खेलिरहेका छन् ।

भावना न्यौपाने आफ्ना सृजनाहरुमा स्वदेशका डाँडा पाखा, फूलफुलैयासँग रमाउन रुचाउनु हुन्छ । वहाँका सृजनाहरु पढ्दा लाग्छ न्यौपाने उपनामले मात्र होईन स्वभावले पनि भावनात्मक हुनुहुन्छ ।

म सीता भवानी सँधै साथ पाऊँ

म बेली चमेली टिपी माथ लाऊँ।।

बनौँला सुकर्मी गरी काम राम्रो

म डाँडा पखेरा सधैँ घुम्न जाऊँ।।

नआओस् कतै चोट बाधा कहिल्यै

म तिम्रै सहारा बनेरै रमाऊँ।।

म साहित्य बागै भरी मग्मगाऊँ

कथा काव्य रच्ने म कापी समाऊँ।।

फुलाऔँ यहीँ नै चमेली र बेली

खुसीको सुनौलो नियात्रा बनाऊँ।।

मित्ररास्ट्र भारतबाट अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान लगायत स्वदेश र बिदेशबाट दर्जनौं सम्मान, पुरस्कार र पदकहरु प्राप्त गरिसक्नु भएका नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित स्रष्टा, नारी साहित्य परिषद्का अध्यक्ष समेत रहनु भएका भवानी न्यौंपाने भावनालाई निरन्तर प्रगति र उत्कृट सृजनाको लागि भ्वाईस अफ काठमाडौं परिवारको तर्फबाट हार्दिक शुभकामना ।

भवानी न्यौपाने ‘भावना’को संक्षिप्त जानकारी

नाम : भवानी न्यौपाने ‘भावना’

पिता : पवित्रराज न्यौपाने

माता : विमला न्यौपाने

श्रीमानः कपिल रेग्मी

छोराछोरी : वर्षा रेग्मी, विवेक रेग्मी

जन्म : हिवल्चा, सल्यान

स्थायी ठेगाना : तुलसीपुर-५, ‘ग’ लाइन दाङ

शिक्षा : बि. एड

पेशा : शिक्षण

भ्रमण : नेपाल, भारत

प्रकाशित कृतिः ‘भावनाका बिम्बहरू-कवितासङ्ग्रह- २०७२,

–  भावनाका उद्भास छन्दोबद्ध  कविता संग्रह २०७३

-भावनाका वहर वाटिका वहरबद्ध गजल सङ्ग्रह २०७४

प्रकाशोन्मुख कृतिहरुः १  छन्द कविता सङ्ग्रह

२-कथा संग्रह

३-मुक्तक सङ्ग्रह

आबद्धता: नेपाल  श्रष्टा समाज काठमाडौं -आजीवन सदस्य

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान -आजीवन सदस्य

 पल्लव साहित्य प्रतिष्ठान, चितवन -आजीवन सदस्य

 राप्ती साहित्य परिषद्, दाङ -आजीवन सदस्य

नुवाकोट साहित्य प्रतिष्ठान आजीवन सदस्य

 लेखक सङ्घ, दाङ-आजीवन सदस्य

 देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङ-आजीवन सदस्य

ब्रह्म  कुमारी राजयोग विश्वविद्यालय, दाङ-आजीवन सदस्य

पुरस्कार तथा सम्मान : 

 – नारी दिवस-२०६९, १-वक्तृत्वकला जिल्लास्तरीय प्रतियोगिता -द्वितीय

२ – कथा, क्याम्पस स्तरीय प्रतियोगिता-२०६०-प्रथम

३ -लेखक संघबाट जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम २०७३

४- दाङ साहित्य संस्कृति प्रतिष्ठानबाट छविलाल स्मृति पुरस्कार-२०७१, तुलसीपुर

५ – पालुङ साहित्य परिषद, पालुङ, मकवानपुरबाट- ‘पालुङ साहित्य सिर्जनशील    नारी स्रष्टा सम्मान- २०७२ ।

 ६- नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोटबाट ‘महामण्डल युवा   प्रतिभा  सम्मान २०७२

 ७- लेखक संघ दाङ, घोराही दाङबाट ‘मञ्जु राणा स्मृति साहित्य सम्मान- २०७२

 ८ – राप्ती साहित्य परिषद बाट विश्णु नुमा साहित्य पुरस्कार २०७२

९- नवलपरासीबाट नारी साहित्य सम्मान २०७२

२०- ओखलढुंगा बाट नमस्ते साहित्य सम्मान २०७२

११-राष्ट्रिय नागरिक समाज काठमाडौंबाट राष्ट्रिय शिक्षा तथा साहित्य सम्मान २०७२

१२- भारत उत्तर प्रदेशको बस्ती राज्यको रुद्रा जनकल्याण साहित्य परिषदबाट अन्तर्राष्ट्रिय  गौरव साहित्य सम्मान २०७२

१३- नेपालगन्जबाट अलाउद्दिन  साहित्य सम्मान -२०७२

१४-गजल अभियान दाङबाट कदर पत्र -२०७२

१५- भारतबाट -शान्ति देवी स्मृति अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान २०७३।

१६-पश्चिमी साहित्यिक आवाज प्रतिष्ठानबाट सर्जक सम्मान २०७४

१७-राष्ट्रिय लोक दोहरी प्रतिष्ठान नेपालबाट- स्रष्टा सम्मान २०७४

१८-दुख निवारण महायज्ञबाट -उत्कृष्ट सर्जक सम्मान २०७३

१९-राष्ट्र शान्ति अभियान नेपालबाट -राष्ट्र शान्ति रत्न सम्मान २०७५

२०-नुवाकोट साहित्य प्रतिष्ठानबाट  -कमलादेवी तथा जननिधि गजुरेल स्मृति सम्मान २०७५

२१-कपुरकोट शैक्षिक तथा धार्मिक महोत्सवबाट साहित्य सम्मान २०७५

२२-कृषि पर्यटन तथा सांस्कृतिक व्यापारिक महोत्सवबाट-साहित्य  सम्मान २०७५

२३-तुलसीपुर वृहत् साहित्य उत्सवबाट- स्रष्टा सम्मान २०७५।

राष्ट्रिय अनलाइन  गजल प्रतियोगिता सुदुर पश्चिम २०७४-द्वितीय पुरस्कार।

Facebook Comments